कपिलवस्तुको ‘मिसन स्थानीय चुनाव’ अभियानको जिम्मेवारी शिवकुमारी चौधरीलाई

काठमाडौं । नेकपा (एमाले) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको ‘मिसन स्थानीय चुनाव’ अभियान अन्तर्गत कपिलवस्तु जिल्लाको जिम्मेवारी पार्टीकी केन्द्रीय सदस्य एवम् शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीलाई दिइएको छ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार चौधरीलाई कपिलवस्तुमा पार्टीको चुनावी अभियान सञ्चालन, संगठन विस्तार र मतदाता परिचालनको मुख्य जिम्मेवारी सुम्पिएको हो। “जनताको बहुदलीय जनवाद जिन्दावाद!” र “जनताको घर-घरमा एमालेको सरकार” भन्ने नाराका साथ अघि बढाइएको यो अभियानमार्फत एमालेले आगामी स्थानीय निर्वाचनमा बलियो उपस्थिति जनाउने तयारी गरेको छ।

पार्टीले देशभरका विभिन्न जिल्लामा यो अभियानको जिम्मेवारी कुल १२४ जना नेतालाई दिएको छ, जसमध्ये ६९ जना महिला रहेका छन्। महिलाको उल्लेख्य सहभागिताले एमालेले अभियानमा लैङ्गिक समावेशितालाई प्राथमिकता दिएको देखिन्छ।

जिम्मेवारी पाएपछि चौधरीले कपिलवस्तुका सम्पूर्ण स्थानीय तहमा एमालेलाई विजयी बनाउन तन, मन र धनका साथ खटिने प्रतिबद्धता जनाएकी छन्। उनले “स्थानीय तहको समुन्नतिका लागि एमालेको संकल्प, विकास र समृद्धिको विकल्प” भन्ने मूल नारालाई घर-घरमा पुर्‍याउने बताएकी छन्।

एमालेले यस अभियानमार्फत ‘जनताको नजिक एमालेको प्रतिबद्धता’, ‘विकास, समृद्धि र सुशासन हाम्रो लक्ष्य’, ‘एकताबद्ध एमाले, समृद्ध स्थानीय तह’ तथा ‘मतदान गरौं, सबल सरकार बनाऔं’ भन्ने सन्देशसहित मतदातामाझ जाने रणनीति लिएको छ।

धेरै पढिएको

ताजा समाचार