कपिलवस्तु
देशका विभिन्न भागमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितहरुको सहयोगका लागि कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० ले उदाहरणीय कदम चालेको छ। वडा कार्यालयले आफ्नो चालु आर्थिक वर्षको विकास बजेट कटौती गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।
वडा अध्यक्ष मन्जु मिश्राका अनुसार, आर्थिक वर्ष २०८३/०८४ का लागि वडा स्तरीय योजना तथा कार्यक्रम अन्तर्गत सामाजिक विकास तर्फ विनियोजित १ लाख ५० हजार रुपैयाँमध्येबाट उक्त रकम बाढीपीडितको राहतका लागि छुट्याइएको हो।
मिति २०८३ भदौ १८ गते बसेको वडा समितिको बैठकले विपद्मा परेका नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि ५० हजार रुपैयाँ नबढ्ने गरी नगद रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। उक्त निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन वडा कार्यालयले शिवराज नगरपालिकाको कार्यालय, चन्द्रौटालाई आधिकारिक पत्र मार्फत सिफारिस गरेको छ।
गत भदौ १० गते नेपाल–चीन सीमा क्षेत्र तथा भोटेकोशी लगायतका नदीहरुमा आएको बाढी र देशका विभिन्न स्थानमा गएको पहिरोका कारण रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी लगायतका जिल्लाहरुमा ठूलो जनधनको क्षति भएको थियो।
सोही अकल्पनीय क्षतिमा परेका दाजुभाइ तथा दिदीबहिनीहरुको घाउमा सानै भएपनि मलम लगाउने उद्देश्यले वडाले आफ्नो विकासतर्फको बजेटबाट सहयोग गर्ने निर्णय लिएको पत्रमा उल्लेख गरिएको छ।
विपद्को यो संवेदनशिल समयमा एउटा वडाले आफ्नो बजेटबाट रकम काटेर राष्ट्रियस्तरको राहत कोषमा जम्मा गर्ने निर्णय गर्नुलाई स्थानीय स्तरमा सकारात्मक र अनुकरणीय कार्यको रुपमा हेरिएको छ।








