महोत्तरीका युवा–किशोरीलाई मिथिला चित्रकलाको सीप : संस्कृति संरक्षणसँगै आत्मनिर्भर बनाउने लक्ष्य


युवा तथा किशोरीलाई सांस्कृतिक पहिचान संरक्षणसँगै जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले पाँचदिने मिथिला चित्रकलाको सीप तालिम सम्पन्न भएको छ ।
महोत्तरी

स्थानीय कला तथा सांस्कृतिक पहिचानको संरक्षणसँगै युवा तथा किशोरीलाई जीविकोपार्जनका अवसरसँग जोड्ने उद्देश्यले महोत्तरीको रामगोपालपुर नगरपालिकामा सञ्चालित पाँचदिने मिथिला चित्रकला तालिम सम्पन्न भएको छ।
रतौली युवा क्लब (RYC) र एक्सनएड इन्टरनेशनल नेपाल (AAIN) को साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम (LRP-41) अन्तर्गत २०८३ भदौ २३ देखि २७ गतेसम्म तालिम सञ्चालन गरिएको हो। तालिममा आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा अवसरबाट वञ्चित परिवारका २५ जना युवा तथा किशोरीको सहभागिता रहेको थियो।
तालिमको मुख्य उद्देश्य सहभागीहरूलाई मिथिला चित्रकलाको व्यावहारिक सीप प्रदान गर्नुका साथै मधेशको मौलिक कला तथा सांस्कृतिक सम्पदाको संरक्षण, पुस्तान्तरण र सम्भावित जीविकोपार्जनका अवसरसँग जोड्नु रहेको आयोजकले जनाएको छ।
तालिमका क्रममा सहभागीहरूलाई मिथिला चित्रकलाको इतिहास, सांस्कृतिक महत्व, परम्परागत आकृति तथा डिजाइन, रङ संयोजन र चित्र निर्माणका विभिन्न प्रविधिबारे जानकारी दिइएको थियो। त्यससँगै परम्परागत कलालाई आधुनिक तथा बजारमुखी उत्पादनमा रूपान्तरण गर्ने विषयमा समेत अभ्यास गराइएको आयोजक संस्थाका अध्यक्ष साकिर खाँनले बताए ।  तालिम अवधिको करिब ८० प्रतिशत समय व्यावहारिक अभ्यासमा केन्द्रित गरिएको तालिमले सहभागीहरूले प्रशिक्षकको प्रत्यक्ष प्रदर्शनपछि व्यक्तिगत तथा सामूहिक अभ्यास, कलाकृति निर्माण र आवश्यक सुधारका लागि प्रशिक्षकबाट निरन्तर सुझाव तथा प्रतिक्रिया प्राप्त गरेको अनुभव समेत अध्यक्ष खाँनले बताए ।
चित्रकलाको प्राविधिक पक्षसँगै सहभागीलाई उत्पादन विकास, गुणस्तर सुधार, लागत तथा मूल्य निर्धारण, प्याकेजिङ, उत्पादनको आकर्षक प्रस्तुतीकरण र आधारभूत बजारीकरणका विषयमा समेत जानकारी दिइएको थियो। यसबाट परम्परागत मिथिला चित्रकलालाई आयआर्जनमुखी उत्पादनका रूपमा विकास गर्न सहभागीहरूलाई आधार तयार भएको आयोजकको विश्वास छ।
तालिम सम्पन्न भएपछि सीपलाई निरन्तरता दिन सहभागीहरूलाई आवश्यक मिथिला चित्रकला सामग्रीसमेत सहयोग गरिएको छ। सामग्री सहयोगले सहभागीलाई तालिमपश्चात् घरमै नियमित अभ्यास गर्न तथा चित्रकला उत्पादनलाई निरन्तरता दिन सहयोग पुग्ने “स्थानीय अधिकार कार्यक्रम” (LRP-41) का कार्यक्रम संयोजक अविनाश कुमार महतोले बताए।
तालिमको अन्तिम दिन सहभागीहरूले तालिम अवधिमा तयार गरेका विभिन्न कलाकृति प्रदर्शनसमेत गरेका थिए। सहभागीहरूले आफूले सिकेको सीप र सिर्जनात्मक क्षमता प्रस्तुत गर्दै विभिन्न डिजाइन तथा चित्रहरू निर्माण गरेका थिए। तालिम सफलतापूर्वक सम्पन्न गरेका सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
मिथिला चित्रकला मधेशको मौलिक सांस्कृतिक पहिचान भएकाले यसको संरक्षणसँगै नयाँ पुस्तामा सीप हस्तान्तरण गर्नु आवश्यक रहेको कार्यक्रम संयोजक महतोले बताए। उनका अनुसार मिथिला चित्रकलालाई केवल सांस्कृतिक अभ्यासमा सीमित नराखी स्थानीय बजार, मेला, महोत्सव तथा प्रदर्शनीसँग जोडेर आयआर्जनको माध्यमका रूपमा विकास गर्ने सम्भावना रहेको छ।
“मिथिला चित्रकला हाम्रो मौलिक पहिचान हो। यसको संरक्षणसँगै युवा तथा किशोरीलाई सीप र आयआर्जनको अवसरसँग जोड्न सकियो भने सांस्कृतिक सम्पदाको संरक्षण र आर्थिक सशक्तीकरण दुवैलाई अघि बढाउन सकिन्छ,” महतोले भने।
तालिमपछि सहभागीहरूले निरन्तर अभ्यास गर्दै नयाँ उत्पादन विकास गर्ने, स्थानीय बजार तथा विभिन्न प्रदर्शनीमा सहभागी हुने र सम्भावित रूपमा मिथिला चित्रकलालाई घरआधारित उद्यम वा साना व्यवसायका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
स्थानीय अधिकार कार्यक्रम (LRP-41) ले रामगोपालपुर नगरपालिकाका वडा नं. १, २, ५ र ९ मा महिला अधिकार, गुणस्तरीय शिक्षा, उत्थानशील जीविकोपार्जन तथा सुरक्षित र दिगो पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको छ।
मिथिला चित्रकला तालिमले सीप विकास, सांस्कृतिक संरक्षण, युवा तथा किशोरी सशक्तीकरण र जीविकोपार्जन प्रवर्द्धनलाई एकीकृत गर्दै स्थानीय युवालाई आत्मनिर्भर बन्ने सम्भावनासँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ।

धेरै पढिएको

ताजा समाचार