चन्द्रौटा, कपिलवस्तु ।
अरनिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सत्रौँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले कमला डुम्रेको अध्यक्षतामा नयाँ कार्यसमिति तथा लेखा समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
संस्थाका निवर्तमान अध्यक्ष दवर्णप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरी र पूर्व नगरप्रमुख नेत्रराज अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।

समारोहमा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, सहकारीका सेयर सदस्य, स्थानीय बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि तथा सम्पूर्ण सहभागीहरूलाई संस्थाका निवर्तमान उपाध्यक्ष राजेन्द्र आचार्यले स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो ।

साधारण सभामा अध्यक्ष दवर्णप्रसाद उपाध्यायले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कमला डुम्रेले संस्थाको आय–व्यय सहितको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रस्तुत दुवै प्रतिवेदनलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको छ ।सोही अवसरमा संस्थाले असल ऋणी, ज्येष्ठ नागरिक तथा असल बचतकर्ताहरूलाई सम्मानपत्र र दोसल्ला ओढाएर विशेष सम्मान गरेको थियो ।
संस्थाका सचिव नवराज न्यौपानेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसी, विशेष अतिथिहरू चौधरी र अधिकारी लगायतका वक्ताहरूले स्थानीय स्तरमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै आर्थिक समृद्धिमा सहकारीले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँहरूले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । जसअनुसार संस्थाको अध्यक्षमा कमला डुम्रे, उपाध्यक्षमा कपिलदेव खनाल, सचिवमा नवराज न्यौपाने र कोषाध्यक्षमा बसन्ता पाण्डे चयन हुनुभएको छ । यस्तै, कार्यसमिति सदस्यहरूमा गीता पौडेल, राजकुमार क्षेत्री, विजय सापकोटा र कविराज अधिकारी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, अधिवेशनले संस्थाको लेखा समिति संयोजकमा कौशलराज न्यौपाने तथा सदस्यहरूमा यमुना शर्मा र विष्णु सोतीलाई निर्विरोध निर्वाचित गरेको छ ।










