मौलिक भैलोमार्फत सामाजिक सेवा: खरेन्द्रपुरस्थित सुपा देउराली मन्दिरलाई भाँडाकुँडा सहयोग, विपन्न परिवारलाई पनि सघाउने प्रतिबद्धता।


कपिलवस्तु । आफ्नै मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै अर्घाखाँचीको लौरी सिद्धराबाट बसाइँ सरी कपिलवस्तुका विभिन्न स्थानमा बसोबास गर्दै आएका दाजुभाइ तथा दिदीबहिनीहरूले देउसी-भैलोमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गरेका छन्।
​मदवागाउँको भैलो समूहले आज शिवराज नगरपालिका वडा नम्बर ३, खरेन्द्रपुरस्थित सुपा देउराली मन्दिर परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरी भैलो फुकाउने (समापन) कार्यक्रम सम्पन्न गरेको छ। परम्परागत भेषभूषा र मौलिक भाकामा खेलिएको उक्त भैलोले स्थानीय बासिन्दाहरूको मन जित्न सफल भएको छ।


​भैलो समापन कार्यक्रमको अवसर पारेर संकलित रकमबाट सामाजिक तथा धार्मिक कार्यमा सहयोग पुर्‍याइएको छ। भैलो समूहले सुपा देउराली मन्दिर, खरेन्द्रपुरमा आयोजना हुने विभिन्न धार्मिक अनुष्ठान तथा भोजभतेरका लागि अत्यावश्यक रहेका दुईवटा ठूला डेप्ची (खाना पकाउने भाँडा) मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ।

​कार्यक्रममा बोल्दै भैलो समूहका अगुवाहरूले भैलो केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने माध्यमसमेत भएको बताए। उनीहरूले भैलोबाट उठेको बाँकी रकम समाजमा रहेका गरिब तथा अतिविपन्न परिवारहरूको सहयोग र उत्थानमा खर्च गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

​पछिल्लो समय आधुनिकताका नाममा मौलिक संस्कृति हराउँदै गइरहेको अवस्थामा अर्घाखाँचीको लौरी सिद्धराको मौलिक पहिचान बोकेको यस भैलोले नयाँ पुस्तालाई आफ्नो संस्कृति हस्तान्तरण गर्न र समाजमा आपसी सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै स्थानीय बासिन्दा तथा बुद्धिजीवीहरूले भैलो समूहको उच्च प्रशंसा गरेका छन्।

​”आफ्नो मौलिक कला र संस्कृतिको जगेर्ना गरौँ” भन्ने मूल सन्देशका साथ सम्पन्न उक्त समापन कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा भैलो टोलीका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

धेरै पढिएको

ताजा समाचार