कपिलवस्तु — वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिकाका विभिन्न स्थानबाट बरामद गरेको २६ सय लिटर घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने पास नष्ट गरेको छ।
प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार शिवराज–४ बनकट्टी र चन्द्रौटा बजार आसपासबाट १७ सय लिटर पास (घरेलु मदिरा बनाउन तयार पारिएको तरल पदार्थ) र ९ सय लिटर तयारी घरेलु मदिरा बरामद गरिएको हो।
बरामद गरिएको मदिरा तथा पास सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ। मदिरा र पास राखिएका पलाष्टिकका ड्रम जर्किन लगायतका सामाग्री समेत बरामद गरिएको हो । अवैध घरेलु मदिराको उत्पादन, ओसारपसार र बिक्री–वितरण नियन्त्रणका लागि अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।
मदिराले शारीरिक तथा मानसिक स्वास्थ्यमा हानि पुर्याउने र सामाजिक अपराधका घटना हुने भन्दै प्रहरीले अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान चलाउँदै आएको छ ।








