३६औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस: ८० वर्ष नाघेका ज्येष्ठ नागरिक सम्मानित


शिवराज (कपिलवस्तु) । “ज्येष्ठ नागरिकको अधिकार: हाम्रो प्रतिबद्धता र जिम्मेवारी” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै कपिलवस्तुको शिवराजमा ३६औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्य रूपमा मनाइएको छ। ज्येष्ठ नागरिक समाज शिवराजको आयोजना तथा शिवराज नगरपालिकाको आर्थिक एवम् प्राविधिक सहयोगमा शिवराज-१ मा अवस्थित नेपाल आदर्श बहुमुखी क्याम्पसको सभाहलमा सो विशेष कार्यक्रम सम्पन्न भएको हो।
​ज्येष्ठ नागरिक समाज शिवराजका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ज्येष्ठ नागरिक मञ्चका केन्द्रीय महासचिव थानेश्वर खनाल मुख्य अतिथि (प्रमुख अतिथि) का रूपमा रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले ज्येष्ठ नागरिकहरू समाजका अमूल्य सम्पत्ति, अनुभवका खानी र इतिहासका साक्षी भएको बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र अधिकार सुनिश्चितताका लागि राज्य तथा स्थानीय तहले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो।


​कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी र शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाको विशिष्ट आतिथ्यता रहेको थियो। विशिष्ट अतिथिहरूले ज्येष्ठ नागरिकहरूको सम्मान र कल्याणका लागि शिवराज नगरपालिका तथा प्रदेश सरकार सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगर प्रमुख अजय थापाले ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा र सम्मानजनक जीवनयापनका लागि नगरपालिकाले निरन्तर सहयोग पुर्‍याउने आश्वासन दिनुभयो।
​त्यस्तै, कार्यक्रममा नगरभित्रका विभिन्न संघसंस्थाका प्रमुख, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय प्रतिनिधिहरूको बाक्लो उपस्थिति एवम् आतिथ्यता रहेको थियो।
​
​कार्यक्रममा ८० वर्ष उमेर पूरा हुनुभएका ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सम्मानित ज्येष्ठ नागरिकहरूले यस प्रकारको सम्मानले आफूहरूमा उत्साह र आत्मसम्मान बढाएको प्रतिक्रिया दिएका थिए।
​क्याम्पस हलमा सम्पन्न उक्त भव्य कार्यक्रमको सञ्चालन संस्थाका सचिव नारायण ज्ञवालीले गर्नुभएको थियो।

धेरै पढिएको

ताजा समाचार