काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जे संरचना जे प्रयोजनका लागि बनेको हो त्यही प्रयोग हुनुपर्ने बताएका छन् । उनले शुक्रबार बेसमेन्ट खाली गराएपछि राहदानी विभागले जारी गरेको सूचना राखेर फेसबुकमा पोस्ट गर्दै धन्यवाद पनि दिएका छन् ।
‘चाहेको यत्ति हो कि जे जुन प्रयोजनका लागि बनेको छ, त्यहीरुपमा प्रयोग होस् । यो कुरालाई पहिलेदेखि नै व्यवहारिकरुपमा प्रयोग गर्नु भएकाहरुप्रति महानगर आभारी छ । अहिलेको अभियानलाई साथ दिएर सुधार गर्नुहुने सबैलाई धन्यवाद छ,’ मेयर शाहले लेखेका छन् ।
राहदानी विभागमा शुक्रबार महानगरको टोली पुगेर बेसमेन्टमा राखिएका कुर्सी खाली गराएको थियो । त्यसपछि राहदानी विभागले उक्त स्थान अब पार्किङकै लागिमात्र प्रयोग हुने भन्दै सूचना जारी गरेको थियो । ‘महानगरको यो अभियान सँधै रहनेछ । हामी पुन: अनुरोध गर्दछौं, कृपया ! नियमको पालना गरिदिनुहोला । महानगर व्यवस्थित बनाउन सबैको योगदानको अनिवार्यता महसुस गरिदिनुहोला,’ मेयर शाहले भनेका छन् ।
केही दिनयता मेयर शाहले काठमाडौंमा अनधिकृतरुपमा बनेका संरचना र पार्किङस्थल अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग भएपछि खाली गर्ने अभियान चलाएका छन् ।