चुनावपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : महामन्त्री थापा


काठमाडौँ -सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचनपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाको भनाइ थियो ।

 

‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले केही दिनभित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँटको विषयमा टुंगो लाग्ने विश्वास समेत व्यक्त गरे ।

 

महामन्त्री थापाले गठबन्धन दलहरुबीच सिट बाँडफाँट टुंगिने वित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने पनि बताए । उनले भने, ‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि निर्वाचनको तयारीमा जुट्दैछौं । अहिले त अब गठबन्धन भन्ने भएकाले को कहाँबाट लड्ने ? त्यसको तालमेल मिलाउँदैछौं । अहिले सम्पूर्ण ध्यान त्यसमा छ । केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ । त्यसपछि चुनावी अभियान सुरु हुन्छ । यो पटक निर्वाचन पनि जित्छौं हामी । हाम्रै नेतृत्वमा सरकार पनि बन्छ । त्यसमा पनि कुनै अलमल भएन ।’

महामन्त्री थापाले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउनका लागि पनि पार्टीले केही दिनभित्रै ‘स्थानीय सरकार सवलीकरण तथा अनुगमन इकाइ’ गठन गर्ने बताए ।

उनले स्थानीय सरकारलाई जनताको पक्षमा काम गराउन पनि पार्टीभित्र सो इकाइको आवश्यकता रहेको बताए । महामन्त्री थापाले भने, ‘स्थानीय सरकारकै सन्दर्भमा पनि हामीले कोसिस गर्दैछौं – पार्टीमा एउटा डेडिकेटेड र पर्मानेन्ट इकाइ बनाउने भनेर । जसलाई हामी स्थानीय सरकार सवलीकरण तथा अनुगमन इकाइ भनेर पार्टीभित्र राख्न खोज्दैछौं । जसले ५ वर्ष स्थानीय सरकारलाई सशक्त बनाउने र जनताको पक्षमा धेरैभन्दा धेरै काम गराउनेछ ।’

 

महामन्त्री थापाले सरकार बनाउनुभन्दा पनि जनताको पक्षमा काम गर्नु ठूलो कुरा भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक तयारी गरेर अघि बढ्न आफ्नो पार्टीले काम गरिरहेको पनि बताए ।

 

धेरै पढिएको

ताजा समाचार