सङ्घीयता, गणतन्त्रमाथिकाे प्रहारबाट चिन्तित छु, चुनाव लगत्तै सडकमा जान्छु : प्रचण्ड


काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव लगत्तै आफू सडक सङ्घर्षमा जाने घोषणा गर्नुभएको छ । निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै देशलाई रूपान्तरण गर्न आफू चुनावपछि लगत्तै सडक सङ्घर्षमा जाने उहाँको भनाइ थियो ।

आइतवार काठमाण्डाैमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको निकासका लागि चुनाव लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने योजना आफूले पार्टीभित्र तय गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘अहिलेको निर्वाचन प्रणाली बदल्नै पर्छ । यो मेसिनरीले पार्टी, नेताहरूलाई पनि भ्रष्टीकरणको बाटोमा पुर्‍याउँछ । देशलाई अघि बढाउन कार्यकारी अधिकारसहित प्रत्यक्ष निर्वाचित शासन प्रणाली हुुनुपर्दछ । हामी प्रदेश र सङ्घको चुनावकाे सङ्घारमा छौँ । अहिले सबैभन्दा बढी छटपटी र चिन्तित पनि म छु । सङ्घीयता र गणतन्त्रमाथि जसरी प्रहार भइराखेको छ । विभिन्न नाम र कोणबाट यो परिवर्तनलाई निस्तेज पार्ने र यो परिवर्तनको नेतृत्व गर्ने आफ्नो पार्टी र नेतृत्वलाई निस्तेज गर्ने क्रम चलिराखेको छ । हेर्नुहोला–चुनावपछि म यो प्रणाली बदल्नका लागि सडकमा जान्छु । सडकबाट मात्रै समाजवादको परिकल्पना संविधानमा गर्न खोजेको हो । मैले कम्युनिस्ट पार्टी एकता गर्दा पनि समाजवादतिर लैजाने कुरा गरेको छु । त्यसलाई प्राप्त गर्न अब एकचोटि फेरी र यो मेसिनरी बदल्नका लागि जनतामा जानुको कुनै विकल्प छैन ।’

धेरै पढिएको

ताजा समाचार