काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रधानमन्त्री कहिले कहाँबाट बन्छ भनेर थाहै नहुने गरेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिन आइतबार ‘नीति, थिति र राजनीति’ विषयक समापन सत्रमा बोल्दै अध्यक्ष ओलीले नेपाली राजनीतिमा राजनीतिक थिति र संस्कृतिको विकास हुन नसकेको बताए ।
उनले विकसित मुलुक अमेरिकाको राजनीतिसँग तुलना गर्दै थिति भएको राजनीतिसँग बेथितियुक्त मुलुकको राजनीतिको तुलना नहुने बताए । ‘अमेरिकामा एउटा सिस्टम छ, त्यहाँ एक पटक राष्ट्रपति भएको व्यक्ति आठ वर्षसम्म रहन्छ । तर, हामी कहाँ थिति छैन । यहाँ शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो, तर चार वर्ष पनि चलाउनुभएको छैन होला,’ ओलीले भने, ‘त्यसको अर्थ के हो भने यहाँ सिस्टम छैन । यहाँ धक्कम् धक्का छ; मुक्कम् मुक्का छ । यहाँ परमादेश छ । अमेरिकामा परमादेशबाट राष्ट्रपति बनेको छैन; चुनावबाट आएको छ । तर हामी कहाँ कार्यकारी प्रधानमन्त्री कहिले कहाँबाट बन्छ ? थाहै हुँदैन ।’
उनले नेपाली राजनीतिमा राजनीतिक व्यवस्थाभित्रको व्यवस्थापन विकसित हुन नसकेको बताए । ‘हाम्रो मुलुकमा एउटा संस्कारको राजनीति, देश र जनताप्रति समर्पित राजनीतिको थिति बसाउन सकिएन, जुन एकदमै आवश्यक छ,’ उनले भने ।