
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले बालबालिकाको अधिकारको संरक्षण गर्दै प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेको बताएका छन्।
बालबालिका राष्ट्रका कर्णधार, भोलिका नीति निर्माता तथा देश र समाजका परिवर्तनका संवाहक भएको भन्दै प्रधानमन्त्री देउवाले बालबालिकालाई संविधान र कानूनले प्रत्याभूत गरेका सबै किसिमका हकअधिकार निर्वाध उपभोग गर्नसक्ने व्यवस्था सुनिश्चित गर्न सरकार गम्भीर रहेको दाबी गरेका छन्।
‘बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन, खेलकुद तथा सर्वांगीण व्यक्तित्व विकासका लागि नेपाल सरकारले नीतिगत, कानूनी, संस्थागत र संरचनागत व्यवस्था गर्दै विभिन्न कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन गर्दै आइरहेको छ’ उनको शुभकामना सन्देशमा भनिएको छ।
‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ नाराका साथ यो वर्ष राष्ट्रिय बाल दिवस मनाउन लागिएको छ।