कपिलवस्तुमा ९ सांसदको लागि १ सय ४६ जना उम्मेदवार


कपिलवस्तुका तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र तर्फ गरी १ सय ४६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तर्फ ५१ जना र प्रदेश सभा सदस्य तर्फ ९५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
कपिलवस्तु क्षेत्र १ वाट प्रतिनिधि सभा तर्फ नेकपा एमालेबाट बलराम अधिकारीको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनले पूर्व मन्त्री नेकपा (माओवादी केन्द्र) का चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ ।यस क्षेत्रमा प्रतिनिधिसभा तर्फ २२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
यस क्षेत्रको प्रदेश सभा–१ तर्फ भने सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसका डोलकराम घिमिरेले मनोनयन दर्ता गराएका छन् भने नेकपा (एमाले) ले विष्णु पन्थीलाई उम्मेदवार बनाएको छ । पन्थी निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य हुन । प्रदेश सभा–२ तर्फ माओवादी, काङ्ग्रेसले सहसराम यादवलाई उम्मेदवार बनाएको छ । यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी काङ्ग्रेसमा आएर टिकट पाएका हुन । यहाँ एमालेले मधुसूदन शरण चौधरीलाई उम्मेदवार उठाएको छ ।
प्रतिनिधि सभा–२ मा ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यहाँ सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यलाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले) ले वृजेश कुमार गुप्तालाई उठाएको छ ।प्रदेश सभा–१ मा सत्ता गठबन्धनबाट नेपाल प्रहरीका पूर्व (एसएसपी) बिक्रम सिंह थापाले मनोनयन दर्ता गराएका छन् । नेकपा (एमाले) बाट नवराज लामिछानेले टिकट पाएका हुन । प्रदेश सभा–२ मा सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसबाट सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ । एमालेले धर्मबहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएर मनोनयन दर्ता गराएको छ ।

प्रतिनिधि सभा –३ मा १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट काङ्ग्रेसका अभिषेक प्रताप शाहले मनोनयन दर्ता गराएका छन् । एमालेले मंगल प्रसाद गुप्तालाई उठाएको छ । प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का एहसान खान उम्मेदवार बनाएको छ ।

एमालेले अर्जुन केसीको मनोनयन दर्ता गराएको छ । केसी यहीँ क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्य हुन। प्रदेश सभा–२ मा सत्ता गठबन्धनबाट वीरेन्द्र कानौडियाले मनोनयन दर्ता गराउँदा एमालेबाट रजाउर्मान खां,नेकपा एकीकृत समाजबादी बाट कपिलबस्तु छेत्र न ३ क मा प्रदेश शभा सदस्य तर्फ जीबलाल पौडेलले उमेदवारी दिनु भएको छ, ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चुनाब चिन्ह सहित कपिलवस्तु क्षेत्र न ३ प्रतिनिधिसभा तर्फ दिपक बेल्बासे ,राष्ट्रिय प्रजातन्त्र पार्टी बाट कपिलवस्तु क्षेत्र न ३(क) तर्फ श्री कृष्ण प्रसाद पौडेलले मनोनयन दर्ता गराउनु भएको छ ।उता कपिलवस्तु क्षेत्र नं ३ बाट ईश्वर दयाल मिश्र(बिरेंद्र ) र ३ (ख)बाट मिर्जा राशिद बेगले जनता प्रगतिशील पार्टी नेपाल बाट मनोनयन दर्ता  गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

धेरै पढिएको

ताजा समाचार