राम अवतार चाैधरी
कपिलवस्तु-मुलुकभर निर्वाचनको सरगर्मी बढेसँगै कपिलवस्तुमा पनि निर्वाचनको माहोल तातेको छ, भने उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा ब्यस्त भएका छन् । अन्य उमेदवार जस्तै कपिलवस्तुको बहादुरगञ्जमा केपी ओली आफै आएर नेकपा एमालेमा स्वागत गरेका मंगलप्रसाद गुप्ता यसपटक उत्साहित देखिएका छन् । उनी एमाले प्रवेशपछि शक्तिशाली भएका छन् ।
यसअघि गुप्ता प्रतिनिधि सभा सदस्यमा पटकपटक उम्मेदवार बनेका थिए । गत निर्वाचनमा दाेस्राे स्थान हासिल गरेका उनलाई एमाले मतदाताकाे समेत मत प्राप्त हुने भएपछि यसपटक विजय हुनेमा उनी ढुक्का देखिन्छन् ।
यसपटक नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका गुप्ता घरदैलोमा पुगेर अहिले भाेट माग्न व्यस्त छन् । लामाे समयदेखि सामाजिक र राजनीतिक जागरण गर्दै समुदायमा उल्लेखनीय याेगदान पुर्याएका उनी एक चरित्रवान नेताकाे रुपमा परिचित छन् ।
कपिलवस्तुकाे क्षेत्र नम्बर ३ का कृष्णनगर, शिवराज, महाराजगन्ज नगरपालिकाकाे ३ वटा वडा र विजयनगर गाउँपालिकाका ३३ वटै वडामा पुग्दै आफूलाई मतदान गर्न आग्रह गरे । आफू पटकपटक पराजित हुँदै आए पनि यसपटक जित निश्चित हुने उनले दावी गरेकाे छन् ।
गुप्ता पदमा नरहे पनि जनताकाे हरेक सुख दुःखमा मल्हम लगाउने गरेकाे स्थानीय विनाेद कुमार गाैतमले बताए । किसान आन्दोलनकाे क्रममा मन्त्रलयमा धर्ना कार्यक्रमदेखि लिएर जनताको पक्षमा आवाज उठान गर्न अग्रसर भएर लागेकाे गौतमकाे भनाइ छ । यस अघि निर्वाचित हुँदै आएका जनप्रतिनिधि पटकपटक निर्वाचित भएपनि यस क्षेत्रका नागरिकले विकास र परिवर्तनको महसुस गर्न नपाएकाे स्थानीय बताउँछन् ।
यस क्षेत्रकै गुप्ता अनुभवी नेता मानिन्छन् । बिगतका निर्वाचनमा उम्मेदवार बनेर पराजित भएपनि यसपटक उनकाे जित हुने स्थानीयको भनाइ छ । गुप्तालाई जिताउन अहिले एमाले सक्रिय रूपमा लागेको छ ।
गत निर्वाचनमा संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका गुप्ता अहिले एमालेबाट उम्मेदवारी दिएकाेले निर्वाचित हुने निश्चित रहेको एमालेको दाबी छ । २०७४ सालको निर्वाचनमा उनले १५ हजार ८ सय ३८ मत प्राप्त गरि दाेस्राे स्थान हासिल गरेका थिए ।
संघीय निर्वाचनमा नयाँ अनुहारको रूपमा प्रतिस्पर्धी प्रकाश रजौरिया आएका छन् । राजनीतिक परिवारका रजौरियाले आफ्नो पक्षमा नतिजा आउने आश गरेका छन् । युवा उमेरका रजौरिया राप्रपाबाट उम्मेदवार बनेका छन् । रजौरियालाई मुस्लिम समुदायकाे साथ रहेको पाइन्छ यद्यपि निर्वाचन जित्न भने सहज छैन ।
पार्टीको सङ्गठन कमजोर रहेकोले उनले व्यक्तिगत रूपमा मेहनत गर्नुपर्ने देखिन्छ, स्थानीय तह निर्वाचनमा शिवराज नगरपालिकामा राप्रपाले नगरप्रमुख जितेपनी त्यो पार्टीको मत नभई व्यक्तिगत प्रभावको मत रहेको सहजै आकलन गर्न सकिन्छ ।
गुप्तासँगै प्रतिस्पर्धामा रहेका इश्वर दयाल मिश्र पूर्व मन्त्री समेत रहेका मिश्र पनि लोकप्रिय नेताको रूपमा चिनिन्छन् । शाहको किल्लालाई यस पटक जसरी भए पनि तोडेर आफूले जित्ने महोल बनाउन तयारी गरिरहेका छन् ।
पूर्व भौतिक योजना मन्त्री हुँदा विकास तीव्र रूपमा गरेका कारण उनले निर्वाचन जित्ने उनीका समर्थकहरूको भनाई छ । उनलाई जसपाकाे एक समूहले आन्तरिक रूपमा सहयोग गर्ने छ भने लोसपाले पनि सहयोग गर्ने बुझिएको छ । उनको २०७४ सालको निर्वाचनमा १४ हजार ३ सय ३० मत पाएका थिए ।
त्यस्तै अर्का प्रतिस्पर्धी रहेका छन् अभिषेकप्रताप शाह जिल्लामा तीन पटकसम्म सांसदमा निर्वाचित भए । शाहको किल्लाको रूपमा कपिलवस्तुको पश्चिमी क्षेत्र मान्ने गरिन्छ । शाह आफ्नो कार्यशैलीका कारण उनी निर्वाचित हुँदै आएका छन् । युवाहरूमा लोकप्रिय भएका शाहलाई पराजित गर्न निकै कठिन मानिन्छ ।
यस क्षेत्रको निर्वाचनमा जो सुकै आए पनि लडाइ शाहसँगै हुने गर्दथियाे तर अहिले पटकपटक निर्वाचित भएपनि जनताले विकासकाे महसुस नभएकाे आम नागरिककाे गुनासो रहने गरेको सुनिन आउँछ । त्यसले गर्दा यसपटक शाह पराजित हुने संभावना देखिने गरेकाे स्थानीय बताउँछन् ।
शाहको राजनीतिक भन्दा पनि व्यक्तिगत प्रभाव छ । उनले पार्टी परिवर्तन गरेर पनि निर्वाचन जितेको इतिहास छ । उमेरले ४० वर्ष नपुगेका शाह राजनितिक पृष्ठभुमिका व्यक्ति हुन् । लामो समयसम्म सांसद भए पनि उनले मन्त्री हुने अवसर भने पाएनन् ।
शाहलाई अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवाले अब जितेर आएमा मन्त्री बनाउने वाचा गरेका छन् । जसपा छोडेर कांग्रेस प्रवेश गरेका शाह देउवा निकटका नेता मानिन्छन् । मंसिर ४ गते निर्वाचनको लागि शाहको टिम मैदानमा आइसकेको छ । उनले हरेक टोलमा निकटका मान्छेहरूलाई जिम्मेवारी समेत दिइसकेका छन् ।
शाहको आफ्नै छुट्टै प्रभाव र अहिले गठबन्धन रहेको माओवादी, एकीकृत समाजवादी लगायतको समेत उम्मेदवार रहेकाले केही सहज हुने उनी निकटको बुझाइ छ । यद्यपि गत स्थानीय तहकाे निर्वाचनमा शिवराज नगरपालिकाका कांग्रेस उम्मेदवारलाई असहयोग गरि राप्रपालाई सहयाेग गरेकाे आराेप लागेका शाहलाई पार्टीमा कार्वाहीकाे सिफारिस समेत गरिएकाले शिवराज नगरपालिकाका नेपाली कांग्रेस समर्थित मतदाताले भने मत दिने संभावना कम रहेकाे छ । २०७४ सालमा शाहको २० हजार १ मत ल्याई निर्वाचित भएका थिए ।