
काठमाडौँ- काठमाडौंमा ठूलालाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगको सिस्टममा अपडेट भएको मत परिणाम अनुसार समानुपातिकमा रास्वपाले ६ हजार २ सय २३ मत प्राप्त गरेको हो ।
दोस्रोमा कांग्रेसले ४ हजार ८ सय २४ मत प्राप्त गरेको छ । तेस्रोमा एमालेले ३ हजार ९ सय ८१ मत प्राप्त गरेको विवरण अध्यावधिक भएको छ । माओवादी पाचौं स्थानमा रहेको छ । उसले १ हजार ७ सय १८ मत मात्रै प्राप्त गरेको छ ।
नेपाल मजदुर किसान पार्टीले १ हजार २ सय ३५ र नेकपा एकिकृत समाजवादीले ६ सय ६० मत मात्रै प्राप्त भएको विवरण अध्यावधिक भएको छ ।
प्रत्यक्षतर्फ काठमाडौ क्षेत्र नम्बर १, ४ र ९ को नतिजा आइसकेको छ । यसमध्ये १ र ४ कांग्रेसले, ९ नम्बर क्षेत्र एमालेले जितेको हो । काठमाडौंको १० वटा क्षेत्रमध्ये ३ वटा कांग्रेस उम्मेदवार अगाडि छन् भने रास्वपाले चार वटा क्षेत्रमा अग्रता कायम छ ।
काठमाडौं क्षेत्र नम्बर २ मा सोबिता गौतमले, क्षेत्र नम्बर ६ मा शिशिर खनाल, क्षेत्र नम्बर ७ मा गणेश पराजुली र क्षेत्र नम्बर ८ मा विश्वराजभक्त श्रेष्ठले अग्रता लिएको छ ।
देशभरीको समानुपातिक मतमा एमालेले सबैभन्दा बढी मत पाएको छ । आयोगले ५ बजेसम्म अध्यावधिक गरेको विवरण अनुसार १ लाख ११ हजार ४ सय ९ मत पाएको छ । दोस्रोमा कांग्रेसले ९५ हजार १७ मत पाएको छ । तेस्रोमा रास्वपाले ४८ हजार ४ सय ९६ मत पाएको छ । माओवादी चौथो स्थानमा रहेको छ । उसले ४१ हजार ४ सय ५६ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ हजार २ सय ९७, जनता समाजवादी पार्टीले ८ हजार ७ सय ३३ मत पाएको छ ।