कपिलवस्तु-
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कपिलवस्तुले स्ववियु निर्वाचन केन्द्रित भएको छ । जिल्ला कमिटीले सबै क्याम्पसहरुमा विभिन्न कमिटीका विद्यार्थीहरुलाई सक्रिय रुपमा लाग्न निर्देशनसमेत दिएको छ । अनेरास्ववियुले आसन्न चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचनको तयारीका लागि आ–आफ्ना ठाउँबाट तीव्रताका साथ सबैलाई लाग्न जोड दिएको छ ।
जिल्लाको बुद्धभूमिमा शनिबार बसेको अनेरास्ववियु जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले जिल्ला कमिटी सदस्य, नगर कमिटी, गाउँ कमिटी र क्याम्पस कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारीसमेत बाँडफाँड गरेको छ । अनेरास्ववियुका विभिन्न कमिटीहरुलाई चलायमान बनाउन महत्वपूर्ण निणर्य गर्दै अनेरास्ववियु जिल्ला कमिटी दोस्रो पूर्ण बैठक सम्पन्न भएको हो ।
अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य टुकलाल गैरेले विद्यार्थीहरुको हक, हित र अधिकारका लागि स्ववियु निर्वाचन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनु सबै विद्यार्थीको अधिकार भएको बताउँदै क्याम्पसहरुमा हुने गरेको अनियमितता, बेतिथि, शिक्षा क्षेत्रमा हुने गरेको कमीकमजोरीलाई सुधार गर्न लागि स्ववियु निर्वाचन समयमा हुनपर्ने जिकिर गर्नुभयो ।
अनेरास्ववियु लुम्बिनी प्रदेश सह–इन्चार्जसमेत रहेका गैरेले स्ववियु निर्वाचन ६ वर्षपछि फेरि स्ववियु निर्वाचन हुन गइरहेकोले सबै कमिटीका सदस्यहरुले निर्वाचन केन्द्रित हुनुपर्ने आग्रह गर्नुभयो । उहाँले स्ववियु निर्वाचनको विधान अनुसार स्ववियु निर्वाचन दुई–दुई वर्षमै हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्ला भरिका क्याम्पसहरुमा अनेरास्ववियुलाई अब्बल र गतिशील संगठन बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष अंजित खनालले जिल्लाको सबै क्याम्पसहरुमा अनेरास्ववियुले जित्ने गरि कमिटीका सदस्यहरुले विविध क्रियाकलापमा लाग्ने बताउनुभयो । उहाँले अनेरास्ववियु सबै भन्दा ठूलो र अब्बल विद्यार्थी संगठन भएको बताउँदै विद्यार्थीहरुको अधिकारका लागि अनेरास्ववियुले जित्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले जिल्ला कमिटीको निर्देशन अनुसार सबैले आ–आफ्नो पदीय जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष खनालले विद्यार्थीहरुको भविष्य निर्माणका लागि अनेरास्ववियुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
बैठकमा अनेरास्ववियुका नेता पुर्व जिल्ला अध्यक्ष विकास आचार्य, निसान खड्का, जिल्ला कमिटी सचिव हेमराज खनाल, सिद्धार्थ बहुमुखी क्याम्पस बुङचीका सभापति सुशिल क्षेत्री, जिल्ला कमिटी, नगर कमिटी अध्यक्ष र क्याम्पस कपमटी अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।