माधव बेल्वासे-कपिलवस्तुको शिवराज नगरपालिका ५ नौडिहवामा कालोपत्रे सडकको बिचमा पोल गढेका छन् । स्थानीय मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको भन्दै बिच भागमै पोल गाढेपछि स्थानीयहरूलाई आवतजावतमा समस्या भएको छ । प्लाटिङ्ग गर्नेहरुको लापरवार्हीले अहिले सडकभर पोल ढडिएका छन् ।
कालोपत्रे सडक निर्माण गर्दा आफूलाई कसैले पनि नबोलाएको र पछि नाप जाँच गर्दा सडक आफ्नो जग्गामा परेको थारुले बताउनुभयो । ‘कुनै जानकारी बिना सडक निर्माण भयो मेरो अधिकांश जग्गा सडकमा परेको छ’ थारुले भन्नुभयो ‘यसरी कसैको जग्गामा सडक बनाउने अधिकार छैन’ ।
नौडिहवाको दक्षिण तर्फ रहेको कालोपत्रे सडकमै पोल गढेपछि त्यस सडकमा सवारी हिँडडुल समेत गर्न सकेका छैनन् । सडक बनाउँदा नाप जाँच भए पनि पछि पुनः थारुले नाप जाँच गर्दा फरक देखिएको स्थानीय छविलाल बन्जाडेले बताउनुभयो । उक्त क्षेत्रमा जग्गा प्लटिङ्ग गरेको कम्पनी सँग छलफल गरेर निर्णय गरिने बन्जाडेले जनाउनुभयो ।
सडकमै पोल गाढ्नु गैर जिम्मेवार रहेको स्थानीय सुरेन्द्र चौधरीले बताउनुभयो । नापी गर्ने निकायले फरक फरक नापी दिँदा स्थानीयमा विवाद र समस्या निम्त्याएको चौधरीले बताउनुभयो । सडकको बिचमा पोल हुँदा सम्म सरोकार निकाय मौन रहेकोले छिटो भन्दा छिटो निकास हुनुपर्ने उहाँले जिकिर गर्नुभयो ।