विजयनगरमा जेठ ४ गते देखि महोत्सव लाग्ने

 

विजयनगर । “समुन्त विजयनगर हाम्रो सान, कृषि, पर्यटन, उद्योग र संस्कृति हाम्रो पहिचान” भन्ने मुल नाराका साथ विजयनगर गाउँपालिकामा कृषि, पर्यटन, उद्योगलाई प्रवद्र्धन गर्न ‘प्रथम विजयनगर महोत्सव–२०८०’ आयोजना गरिने भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा जेठ ४ देखि १४ गतेसम्म महोत्सव गर्न लागिएको हो । विजयनगर समाजको आयोजना, विजयनगर गाउँपालिका र व्यापार संघ विजयनगरको सह–आयोजनामा ११ दिनसम्म विजयनगर महोत्सव सञ्चालन हुने जनाइएको छ ।

 

कृषिको व्यावसायीकरण र आधुनिकीकरणसँगै पर्यटन तथा उद्योगको प्रवद्र्धन गरेर गाउँपालिकाको विकास गर्न महोत्सव आयोजना गर्न लागिएको महोत्सव मुल समारोह समितिका संयोजक राम प्रघट कोरीले जानकारी दिए । पछिल्लो समय कोरोनाका कारण थलिएको यहाँको पर्यटन र व्यापार व्यवसाय चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको कोरीले बताए । महोत्सवले यस क्षेत्रको ओझेलमा परेका धार्मिक, पर्यटकीय स्थलको प्रचारप्रसार र कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटक भित्राउन सहयोग पुग्ने विश्वास लिएको साँस्कृतिक संयोजक दिपक भण्डारीले बताए ।

 

सय भन्दा बढी व्यापारिक स्टल रहने महोत्सवमा बाल उद्यान, सेल्फी जोन राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा भोजपुरी कलाकारहरुको प्रस्तुति रहने छ । महोत्सवमा प्रथम विजयनगर डान्स आइडल २०८०, खुल्ला भलिबल प्रतियोगीता समेत हुने आयोजकले जनाएको छ । ३० हजारभन्दा बढी दर्शक सहभागी गराएर ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएकोे छ । विजयनगरका धार्मिक, पर्यटन, साँस्कृतिक र कृषि पर्यटनको सम्भावनाको खोजी गराउन महोत्सवले सघाउ पुग्ने विश्वास लिइएको छ ।

 

धेरै पढिएको

ताजा समाचार