प्रथम विजयनगर महोत्सवको तयारी तीव्र

विजयनगर । प्रथम विजयनगर महोत्सवको तयारी तीव्र रुपमा बढेको छ । जेठ ४ देखि १४ गतेसम्म सञ्चालन हुने विजयनगर महोत्सवको तयारी तीव्र पारिएको हो । “समुन्नत विजयनगर हाम्रो सान, कृषि, पर्यटन, उद्योग र संस्कृति हाम्रो पहिचान” भन्ने मुल नाराका साथ विजयनगर गाउँपालिकामा कृषि, पर्यटन, उद्योगलाई प्रवद्र्धन गर्न ‘प्रथम विजयनगर महोत्सव–२०८०’ आयोजना गरिने भएको छ ।

 

विजयनगर समाज कपिलवस्तुको आयोजना, विजयनगर गाउँपालिका र व्यापार संघ विजयनगरको सह–आयोजनामा महोत्सव सञ्चालन हुने भएको हो । महोत्सवमा हुने एक सय भन्दा बढी व्यापारिक स्टल, बाल उद्यान, सेल्फी जोन लगायतको सम्पूर्ण कामहरु भइरहेको छ । दुई दिनभित्र महोत्सवको ७५ प्रतिशत काम सम्पन्न भई सक्ने आयोजकले जनाएको छ । गाउँपालिकाकाे वडा नम्बर ४ शंकरपुर खेल मैदानमा विजयनगर महाेत्सव हुने भएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा भोजपुरी कलाकारहरुको समेत प्रस्तुति रहने छ ।

 

कृषिको व्यावसायीकरण र आधुनिकीकरणसँगै पर्यटन तथा उद्योगको प्रवद्र्धन गरेर गाउँपालिकाको विकास गर्न महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल समारोह समितिका संयोजक राम प्रघट कोरीले जानकारी दिए । उनले पछिल्लो समय कोरोनाका कारण थलिएको यहाँको पर्यटन र व्यापार व्यवसाय चलायमान बनाउन महोत्सव आयोजना गर्न लागिएको बताए । महोत्सवले यस क्षेत्रको ओझेलमा परेका धार्मिक, पर्यटकीय स्थलको प्रचारप्रसार र कला संस्कृतिको संरक्षण, आन्तरिक पर्यटक भित्राउन सहयोग पुग्ने साँस्कृतिक संयोजक दिपक भण्डारीले बताए ।

 

महोत्सवमा प्रथम विजयनगर डान्स आइडल २०८०, खुल्ला भलिबल प्रतियोगीता समेत हुने आयोजकले जनाएको छ । ३० हजारभन्दा बढी दर्शक सहभागी गराएर ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ । विजयनगरका धार्मिक, पर्यटन, साँस्कृतिक र कृषि पर्यटनको सम्भावनाको खोजी गराउन महोत्सवले सघाउ पुग्ने विश्वास आयोजकले विश्वास लिएको छ ।

धेरै पढिएको

ताजा समाचार