कपिलवस्तु। राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । मंगलबार विजयनगर गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । काठमाडौंको नयाँ बसपार्कमा अवस्थित न्यु कपिलवस्तु रुपन्देही गेष्ट हाउसको आर्थिक सहयोगमा अनाथ, गरिब तथा फरक क्षमता भएका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको अध्यक्ष शम्भु विकले जानकारी दिए ।
गेष्ट हाउसका संचालक निश्चल पन्थीले आफ्नो जन्मदिनको अवसरमा रचनात्मक काम गर्ने मन्साय देखाएपछि संघले सहकार्य गरेको उनको भनाई छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले शिक्षामा सबैको सरल र सहज पहुँच हुनुपर्ने बताए । उनले आफ्नो पालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे ।
उनले शिक्षा क्षेत्रमा राज्यले बर्षेनी अरबौं लगानी गरेको तर सोही अनुसार परिणाम हात नपरेको भन्दै चिन्ता व्यक्त गरे । अध्यक्ष थापाले विद्यालयहरुमा लगानी अनुसारको प्रतिफल आउन नसकेको बताउँदै गाउँपालिका विद्यालय र विधार्थीका समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताए । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य चिन्ता परियारले समाजका हरेक वर्गको शिक्षामा उल्लेख्य सहभागिता बढाउन आवश्यक रहेको बताए ।
विद्यार्थीलाई शिक्षा आर्जन गर्ने क्रममा आईपर्ने विविध समस्याको निराकरण गर्न सबै सरोकारवाला गम्भिर बन्नुपर्ने उनको भनाई छ । उनले राज्यको शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउँदै शिक्षा क्षेत्रमा व्यापक असमानता रहेको जिकीर गरे ।
उनले यस किसिमको असमानतालाई समाजलाई नकारात्मक दिशातर्फ उन्मुख गराउने भन्दै चिन्ता व्यक्त गरे । शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरुले खुशी व्यक्त गर्दै अब थप उत्साहका साथ अध्ययन गर्ने बताएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले जन्मदिनको अवसरमा यस किसिमको कार्यक्रम आयोजना गर्नु आफैमा उदाहरणीय रहेको भन्दै यसबाट सबैले पाठ सिक्न जरुरी रहेको बताएका थिए । २० जना विद्यार्थीलाई झोला, कापी र कलम वितरण गरिएको हो । राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुका सचिव सागर विकको संचालनमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार संघ कपिलवस्तुका सहसचिव सन्जिव गहतराजले स्वागत मन्तव्य राखेका थिए ।