
माधव बेल्वासे
चन्द्रौटा,कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ ले चालु आर्थिक वर्षका शत प्रतिशत योजना सम्पन्न गरेको छ । वडा अध्यक्ष टेकलाल सापकोटाले पत्रकार सम्मेलन गरेर वडाले एक वर्ष भरी गरेका काम र आगामी वर्षका योजनाको बारेमा जानकारी दिनुभएको छ ।
२०७४ सालको निर्वाचन बाट पहिलो कार्यकालमा उत्कृष्ट काम गरेर चर्चा कमाउनुभएको सापकोटाले दोस्रो कार्यकालको पहिलो वर्ष पनि उत्कृष्ट काम गरेको पाइएको छ । वडाले गरेका कामको बारेमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेर नयाँ अभ्यासको समेत सुरु गर्नुभएको छ ।
भ्रष्ट्राचार शून्य सहनशीलता भन्दै कुनै पनि कर्मचारीले केही कामको लागि पैसा मागेमा कारबाही गर्ने घोषणा समेत गर्नुभएको छ । जनता सँग गरेका प्रतिविद्धतालाई क्रमशः पुरा गरिरहेको बताउँदै समृद्ध वडाको लागि सबैको साथ आवश्यक रहने बताउनुभयो ।
यस वर्ष वडामा ७ वटा टोल विकास समिति गठन गरेको बताउनुभयो । हरेक टोलका समस्या र टोल सुधारको लागि वडाले उक्त समितिलाई सहयोग गरी विकास गर्ने बताउनुभयो । वडाको बलुहवा मझगाउँ हचुवाका नागरिकहरूको सहजताको लागि सेवा केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो । हरेक मङ्गलवार बलुहवा बाट सेवा प्रदान गर्ने गरेको सापकोटाको भनाई छ ।
चालु आर्थिक वर्षमा वडाको ८०९ मिटर सडक कालोपत्रे गरिएको छ । धनगढवा देखि भितिरिया जाने सडक कालोपत्रे गरिएको छ । यस वर्ष नगरमा भएको कालोपत्रेको योजना यो एउटा मात्र हो । त्यस्तै ११ सय ४६ मिटर सडक ग्राभेल भएको छ भने ३ सय ३१ मिटर सडक पिसीसी निर्माण भएको छ । वडाका ६४ वटा स्थानमा सडक बत्ती जडान गरिएको छ । भने ४३ बन्डल जस्तापाता विपन्न नागरिकहरूलाई वितरण गरिएको छ । विद्यालयहरूमा जस्तापाता लगाउने,मन्दिर निर्माण,सामुदायिक भवन ,नाली निर्माण सम्पन्न भएको छ ।
वडाका ८१ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान र ७ सय ४९ जनाको निःशुल्क आँखा जाँच गरिएको छ । वडाका ७६ जनालाई बायोस्याण्ड फिल्टर र ७० जना बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएको वडा अध्यक्ष सापकोटाले बताउनुभयो । कृषकहरूलाई अनुदान देखि महिलाहरूलाई ढकिया बनाउने,ढाकाको झोला बनाउने लगायतका काम सम्पन्न भएका छन् । वडा भित्रका २०४ जना ज्येष्ठ नागरिकहरूलाई घरघरमा पुगेर स्वास्थ्य सेवा दिइएको छ । २ सय १० जनाले स्वास्थ्य संस्थामा प्रसूति गराएका छन भने ५२ जनालाई रिफर गरिएको छ । आगामी वर्षका लागि तय भएका योजनाका बारेमा समेत सार्वजनिक गरिएको छ । वडामा रहेको धार्मिक तथा ऐतिहासिक स्थललाई पर्यटन सँग जोड राय माग गरिएको थियो । वडाले दाहसंस्कारको लागि निःशुल्क दाउँरा,मुटु मिर्गौला डायलासिस बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको सापकोटाले बताउनुभयो ।
