शंकरपुर ताल निर्माण गर्न १० लाख


कपिलवस्तु –
कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको शंकरपुर ताल निर्माणका लागि १० लाखको बजेट विनियोजन भएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित शंकरपुर ताल निर्माणका लागि उक्त बजेट विनियोजन गरिएको जनाइएको छ । शंकरपुर ताल यस क्षेत्रकै सबै भन्दा ठुलो ताल हो । यो शंकरपुर ताल करिब ४२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । गत असोज महिनामा अविरल वर्षाका कारण तालको बाँध भत्किँदा ताल सुख्खा अवस्थामा छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले सिँचाई तथा जलस्रोत विभागबाट शंकरपुर ताल निर्माण गर्न १० लाख रुपैयाँ रकम विनियोजन भएको जानकारी दिए । उक्त ताल फुटेर सुक्दा सिँचाईको लागि किसानलाई ठुलो समस्या भएको बताउँदै गाउँपालिकाको पटक–पटकको प्रयासले ताल संरक्षणको लागि संघीय सरकारबाट सो रकम विनियोजन भएको उनले बताए । उनले आर्थिक वर्ष २०८०÷०८१ का लागि योजना समावेश भई सकेको हुँदा तालको काम हुने निश्चित भएको बताए । अध्यक्ष थापाले यस तालबाट वडा नम्बर २ र ४ गरि ८ सय ५० हेक्टर कृषि योग्य जमिनमा सिँचाई क्षमता रहेको बताए ।

उनले तालबाट उत्पन्न हुने समस्या लगायत तालको ठेक्का प्रक्रियाका लागि करोडौँ रुपैयाँ बजेटको आवश्यकता भएको भन्दै विभिन्न मन्त्रलाय र राजनैतिक दलका नेताहरुसँग पहल भइरहेको बताए । ताल गाउँपालिकाको गौरवको योजनाको रुपमा रहेकोले बहुवर्षीय योजना सम्झौता गरि तालको विकासका लागि पहल भइरहेको अध्यक्ष थापाको भनार्ई छ ।

अध्यक्ष थापाका अनुसार गत वर्ष माघ ३ गते ताल संरक्षण, सौन्दर्यीकरण तथा मर्मत सम्भार गर्न सके जलाधार संरक्षण हुनुको साथै सिँचाई प्रणाली व्यस्थित हुने, पर्यटकीय क्षेत्रको रुपमा विकास हुने स्थानीय कृषि उत्पादनमासमेत बृद्धि भई यस क्षेत्रका जनताका जीवनस्तर सुधारसमेत हुने भन्दै सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना जावलाखेल ललितपुरमा बजेट विनियोजनको माग गरिएको थियो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सिँचाइ र पर्यटकीय क्षेत्रको हिसाबले प्रचूर सम्भावना बोकेको शंकरपुर ताल निकै महत्वपूर्ण रहेकोले विस्तृत निर्माणका लागि बजेट सुनिश्चित गर्न गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापासहित अर्थ मन्त्रालयमा पहल भएको जानकारी दिए । उनले शंकरपुर तालको वृहत्तर विकास र संरक्षण गर्न गाउँपालिकाको पहलमा जलस्रोत तथा सिँचाई विभागले ४० करोड बढीको डिपिआर तयार भएको बताए ।

धेरै पढिएको

ताजा समाचार