कपिलवस्तु –
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नदीले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गरिएको छ । आइतबार विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र जलस्रोत तथा सिँचाइ विकास कार्यालयको एक टोलीले नदी कटान क्षेत्रको अनुगमन गरेको हो । वर्षेनी अविरल वर्षाका कारण नदीमा आएको बाढीले किसानका नम्बरी खेती योग्य जमिनसमेत कटान हुँदै जाँदा यस क्षेत्रको संरक्षणका लागि अनुगमन गरिएको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगरको चिरई, विशवा र अर्रा नदीले कटान गरेका क्षेत्रको स्थलगत अनुगमन गरिएको जानकारी दिए । अध्यक्ष थापाले नदी कटानले उच्च जोखिममा रहेका क्षेत्रहरुमा नदीमा तटबन्ध निर्माणका लागि पहलसमेत गरिएको बताए । तत्काल तटबन्ध निर्माणका लागि जलस्रोत तथा सिँचाई विकास कार्यालयसँग समन्वय गरेर बजेट विनियोजन गरि काम अघि बढाउन अनुरोध गरेको अध्यक्ष थापाको भनाई छ । जलस्रोत तथा सिँचाई विकास कार्यालय र गाउँपालिकाको साझेदारीमा तटबन्ध निर्माण गर्न आवश्यक पहल गरिरहेको उनले बताए ।
अनुगमन टोलीका अनुसार विजयनगरमा नदी कटानले ७ सय बिघा बढी खेती योग्य जमिन उच्च जोखिममा रहेका छन् । त्यस्तै अर्रा नदीले ५ सय बढी बिघा नेपालतर्फ (गौतमबुद्ध साझेदारी बन) क्षेत्रको जमिन कटान गरेको छ । गाउँपालिकाको वडा नम्बर २ मा चिरई नदीले लोहरौलाको छिटहनीमा १ सय ५० मिटर र दौवानमा २ सय ५० मिटर जमिन कटान गरेको छ । २ बिघा नम्बरी जमिनसमेत नदीले कटान गरेको पाइएको छ । त्यस्तै वडा नम्बर १ मा चिरई नदी र विशवा नदीको दोभानले सेमरीको चाफामा २ सय ५० मिटर बढी जमिन कटान गरेको छ ।
यस्तै नेपाल–भारत दशगजा क्षेत्रमा अर्रा नदीको धार भएर बग्ने नयाँबस्ती–तिनघरेको बीचमा नदीले नेपालतर्फ ५ सय बढी जमिन कटान भएको पाइएको छ । यस अर्रा नदी कटानले नौसहरा, वीरनगर, अमृतडिहवा, नयाँबस्ती–तिनघरे गाउँसमेत जोखिममा रहेका छन् । यसैगरी चिरई नदीले आधारभूत विद्यालय थरौलीमा १ सय ५० मिटर बढी जमिन कटान भएको छ । चिरई नदीको वर्षेनी कटानले सो विद्यालय उच्च जोखिममा रहेको छ ।
यता जलस्रोत तथा सिँचाई विकास कार्यालयका डिभिजन प्रमुख पुरुषोत्तम उपाध्यायले नदी कटानले उच्च जोखिममा रहेका क्षेत्रमा अनुगमन गरिएको बताउँदै उक्त क्षेत्रमा तटबन्ध निर्माणको लागि बजेट विनियोजन गर्न पहल गर्ने बताए । वर्षातको सिजन सकिए लगत्तै आवश्यक प्रक्रिया पु¥याएर तटबन्ध निर्माणका काम अघि बढाइने उपाध्यायको भनाई छ । उनले अनुगमन गरिएको क्षेत्र मध्ये उच्च जोखिममा रहेका क्षेत्रमा तत्कालै तटबन्ध निर्माणको लागि सम्बन्धित मन्त्रालयमा प्रक्रिया सुरु गरिने बताए ।
वडा अध्यक्ष नेपाल चौधरीले चिरई नदीको कटानले किसान दुखित भएको बताएका छन् । उनले किसानका खेती योग्य जग्गासमेत नदीले कटान गर्दा उनीहरु मर्कामा परेको बताए । अहिलेको वर्षातमा नदीमा आएको बाढीले ठुलो समस्या सिर्जना गरेको बताउँदै तत्काल तटबन्ध निर्माण गर्न आवश्यक देखिएको वडा अध्यक्ष चौधरीको भनाई छ ।
यस्तै स्थानीय दिपेन्द्र महराले विशवा र चिरई नदीको दोभानले सेमरी चाफामा ३० औँ बिघा जमिन जोखिममा रहेको बताए । यसैगरी आधारभूत विद्यालय थरौलीका प्रधानाध्यापक तुल बहादुर सारुले चिरई नदीले बाटो नै काट्दा विद्यार्थी लगायत सबैलाई आवतजावत समस्या भएको बताउँदै विद्यालय नै उच्च जोखिममा रहेको बताए ।