
चाडपर्व नजिकिएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा शिवराज नगरपालिका र इलाका प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको छ । दुई दर्जन भन्दा बढि पसलमा अनुगमन गर्दा सबै पसलमा मूल्य सूची नराखेको पाइएको छ । किराना पसल तथा औषधि पसलमा रहेका म्याद सकिएका सामाग्री जफत गरेको छ मिठाई पसल र होटलहरुमा सरसफाइ नभएकोले सरसफाइ गर्न निर्देशन दिइएको छ । सडकमा रहेको ठेलाहरू पनि हटाइएको छ ।
बजारमा रहेका किराना पसल, मिठाई पसल, होटेल, दूध डेरी,औषधि पसल हरुमा अनुगमन गरेको नगरप्रमुख अजय थापाले बताए । नियमित अनुगमन नहुँदा व्यापारीले आफूखुसी सामान बेच्ने गरेको र त्यसले मानव स्वास्थ्यमै नकारात्मक असर परेको गुनासो भइरहँदा बजार अनुगमन गरिएको मेयर थापाले बताए ।
अनुगमन टोलीले मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, नापतौल सामग्रीको अवस्था, म्याद नाघेका सामग्री, स्थायी लेखा नम्बर, भ्याटमा दर्ता पत्र लगायतबारे जानकारी लिएको थियो । अधिकांश होटलहरुमा सरसफाइ तथा व्यवस्थित नभएको पाइएको शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले बताइन् ।
अनुगमन टोलीमा शिवराज नगरपालिकाका मेयर अजय थापा,उपमेयर शिवकुमारी थारु,प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेले,इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख, वडा अध्यक्षहरू नेत्र प्रसाद बेल्वासे,विक्रम केसी,चन्द्रौटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरी पाण्डे,व्यापार सङ्घका जगत पौडेल, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रतिनिधि,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।