
कपिलवस्तु चन्द्रौटा
कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालले २४ घण्टे आकस्मिक र डिजिटल एक्सरे सेवा सुरु गरेको छ । नागरिकहरुको स्वास्थ्य उपचारमा सहजताको लागि २४ घण्टा उपचार हुने व्यवस्था सहित सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद बेल्वासेले बताउनुभयो । शुक्रवार नगरप्रमुख अजय थापाले रिवन काटेर सेवा सुचारु गर्नुभएको हो ।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै सहज रुपमा स्वास्थ्य पहुच बनाउने योजना रहेको थापाले बताउनुभयो । पालिकाले गर्भवती महिलाहरुलाई निःशुल्क एम्बुलेन्स लगायतका सेवा संचालन गरिरहेको बताउनुभयो ।
थापाले अब लगतै पोष्टमार्टम,जटिल प्रसुति सेवा लगायतका वाहरु सुरु गरिने बताउनुभयो । काम गर्दै गर्दा कहि कतै कमजोरी भएमा सच्याएर जाने थापाले बताउनुभयो । यस क्षेत्रको समग्र विकासको लागि सवै नगरवासिहरुको साथ र सहयोग हुनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा उपप्रमुख शिवकुमारी थारुले आधारभूत स्वास्थ्य सेवा अस्पतालले २४ घण्टे सेवामा नगर र अन्य ठाउँबाट पनि बिरामीहरु आउने बताउनुभयो ।
स्वास्थ्यकर्मीहरुले उपचारमा कुनै पनि हेलचेक्राइ गर्न नहुने थारुले बताउनुभयो । नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारी,उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष इश्वरी पाण्डेले उपचार पद्धतीलाई प्रभावकारी बनाउदै सहज रुपमा स्वास्थ्य उपचार हुने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । आधारभूत स्वास्थ्य सेवा अस्पताल सरकारले प्रदान गर्ने निशुल्क औषधि बाहेक अन्य औषधिमा १५ प्रतिशत छुट सहित उपलब्ध गराइने भएको छ ।