शिवराजमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


चन्द्रौटा,१५ माघ
शिवराज नगरपालिकामा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा रहेको खेल शिवराज नगरपालिका ५ चन्द्रौटाको खेलमैदानमा सुरु भएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले प्रतियोगितात्मक मार्च पास गरी खेल शुभारम्भ गरिएको छ ।खेल एउटा शिक्षा रहेकोले नगरले खेललाई प्राथमिकता दिँदै आएको नगरप्रमुख अजय थापाले बताउनुभयो । कुलतबाट बचाउनुको साथै स्वास्थ्यको लागि पनि खेलले फाइदा पुग्ने थापाको भनाइ रहेको छ । नगरमा माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता रहेकोले अनुशासित भएर खेलमा सहभागी हुन मेयर थापाले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा संस्थापक मेयर नेत्रराज अधिकारीले नगरपालिकाले खेललाई प्राथमिकता दिँदै यहाँका खेलाडी जिल्ला हुँदै केन्द्र सम्म पुराउनुपर्ने बताउनुभयो । खेलमा विभिन्न विवाद आउने भएकोले आयोजक जिम्मेवार भएर प्रतियोगिता गर्न सुझाव दिनुभयो । नगरले खेलाडीलाई प्रोत्साहन गर्नको लागि विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो ।
खेललाई विवादरहित बनाइन प्रयासरत रहेको खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीको भनाई रहेको छ । विगतका वर्षमा खेल महोत्सव भनेर राष्ट्रपति रनिङ शिल्ड,मेयर,उपमेयर कप एकै पटक हुने गरे पनि यस वर्ष भने छुट्टा छुटै आयोजना गरिएको चौधरीले बताउनुभयो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तर्फ नगरभित्रका १४ विद्यालयका खेलाडीहरू बिच १६ इभेन्टमा प्रतियोगिता हुने शिक्षा शाखा प्रमुख दिनेश चौधरीले बताउनुभयो । खेलमा नगरका ८ सय २० खेलाडी सहभागी हुने बताइएको छ ।

धेरै पढिएको

ताजा समाचार