कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ३ ले ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । वडा भित्र रहेका ७५ वर्ष भन्दा माथिका १ सय ७० जना ज्येष्ठ नागरिकहरूलाई सम्मान सहित किटनाशक झुल वितरण गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । वडाले प्रत्येक वर्ष वृद्धवृद्धाहरुलाई सम्मान गरेर अभिभावकत्व प्रदान गर्ने गरेको बताउनुभयो ।
पछिल्लो समय युवा पुस्ताहरू वैदेशिक रोजगारीमा जाने र नेपालमा बुवामालाई वृद्धा आश्रममा राख्ने प्रचलन आएकोले यसलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । वडाले अचार बनाउने तालिम,चप्पल बनाउने तालिम र झोला बनाउने तालिम दिएर नागरिकहरूलाई आत्मनिर्भर बनाएको बताउनुभयो ।
वडाले पन्जेबाजा तालिम प्रदान गरी आजै समापन गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो । उपस्थित भएका अतिथिहरूलाई पन्जेबाजा बजाएर स्वागत गरिएको थियो भने कार्यक्रम स्थलमै विभिन्न परिकारका अचार र चप्पलहरू पनि राखिएको थियो । मदवामा पान्जेवाजा समूह,बलुहवामा चप्पल उत्पादन र खरेन्द्रपुर अचार बनाउने समूह तयार भएको बताइएको छ ।
कार्यक्रममा नगर प्रमुख अजय थापाले वडाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गरेकोमा धन्यवाद दिनुभयो । पछिल्लो समय तालिम लिने तर सदुपयोग नभएकोले हरेक तालिमको उपलब्धि हुनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकहरू नगरका धरोहर रहेकोले सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत बावु्राम पौडेलले बताउनुभयो । वडामा पन्जेबाजाको समूह तयार रहेको भनेर वडाले सार्वजनिक गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति हुमकान्त खनाल ,एमाले नगर अध्यक्ष जगत पौडेल , नागरिक उन्मुक्ति पार्टीका कृष्ण कुमार चौधरी,नेकपाका स्थायी समिति सदस्य भेषराज भुसाल , व्यापार सघका अध्यक्ष महादेव पोख्रेल,उद्योग वाणिज्य सघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे, महिला अधिकारकर्मी मिना परियार,ज्येष्ठ नागरिक समाजका थानेश्वर खनाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।