कृष्णनगर ।कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जमा अवस्थित शिवराज अस्पतालमा एक टोलीले अनुगमन गरेको छ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्री दिपेन्द्र पुन मगर लगायतको टोलीले आइतबार अस्पतालको अनुगमन गरेको नगर प्रमुख रजत प्रताप शाहले बताए ।
लुम्बिनी प्रदेश सचिवका डा.जनार्दन पन्थी, संघीय स्वास्थ्य मन्त्रालयका दिपेन्द्र रमन सिंह एडिसनल सेक्रेटेरी र कृष्णनगर नगरपालिकाको सहितकाे टोलीले शिवराज अस्पतालमा अनुगमन गरेका हुन् ।
अनुगमनको क्रममा स्वास्थ्य मन्त्री दिपेन्द्र पुन मगरले अस्पतालको विकासका लागि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सम्बन्धित निकायले पनि अस्पतालप्रति चाँसो देखाउनुपर्ने बताउँदै तीनै तहका सरकारले लगानी गर्नुपर्ने आवश्यकता देखिएको बताए ।
कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले बर्षेनी नगरपालिकाले बजेट विनियोजन गर्दै आएको बताउँदै अस्पतालको विकास र संरक्षणमा जोड दिएको बताए । उनले नगरपालिकाले मात्र अस्पताल चलाउन समस्या सिर्जना हुने गरेकोले प्रदेश र संघीय सरकारले लगानी गर्न जरुरी देखिएको बताए ।