घनश्याम भर,कपिलवस्तु ।गणेशपुर आयुर्वेद औषधालयमा स्वास्थ्य उपचार सेवा लिने बिरामीको संख्यामा बृद्धि भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका–७ प्रसोहियामा अवस्थित गणेशपुर आयुर्वेद औषधालयमा स्वास्थ्य उपचार सेवा लिने बिरामीको संख्या बढ्दै गएको छ । आयुर्वेदिक सेवाप्रति बिरामीको विश्वास बढ्दै गएपछि स्वास्थ्य उपचार लिने बिरामीको संख्यामा बृद्धि हुँदै गएको छ । दैनिक २० देखि २५ जना सेवाग्राहीले आयुर्वेदिक सेवा लिनका लागि आउने गरेको औषधालयले जनाएको छ ।
बिरामीले आयुर्वेदिक उपचारमा गुणस्तरीय सेवा पाउन थालेपछि बिरामीको आकर्षण बढेको हो । आयुर्वेदिक उपचार प्रभावकारी भएपछि विजयनगर गाउँपालिका, कृष्णनगर, शिवराज र महाराजगञ्ज नगरपालिकाबाट स्वास्थ उपचार सेवा लिन आउने गरेका छन् । यस्तै छिमेकी मुलुक भारतको उत्तर प्रदेशको सिद्धार्थनगर, बलरामपुर, पचपेडवा, बढनी लगायत आसपास ठाउँका भारतीय नागरिक समेत आयुर्वेदिक स्वास्थ्य उपचार सेवा लिन आउने गरेका छन् ।
मासिक २० जना भन्दा बढी भारतीय नागरिकले आयुर्वेदिक सेवा लिने गरेको औषधालयको तथ्यांकले देखाएको छ । भारतीय नागरिक र स्थानीय लगायतको सेवाग्राहीले आयुर्वेद औषधालयमा बिरामीको चाप बढेको हो । बिरामीले रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य उपचार सेवा पाइएकाले उपचारका लागि आउने गरेको बताउँछन् ।
विजयनगर गाउँपालिका–५ डालपुर नयाँबस्तीका सुर्य बहादुर कुमालले नसा च्यापिने समस्याबाट धेरै लाभ मिलेको बताउँछन् । उनले बुटवलमा करिब एक महिना उपचार गराएको तर निको नभएपछि आयुर्वेद औषधालयबाट उपचार सुरु गरेपछि स्वास्थ्य अवस्था धेरै सुधार भएको बताए । उनले भने ’एक महिनासम्म औषध खाँदा पनि सुधार भएको थिएन । नसा च्यापिएर बस्नै नसक्ने अवस्था थियोे । अहिले यहाँबाट आयुर्वेदिक उपचार सुरु गरेपछि राम्रोसँग बस्न सहज भएको छ ।’
यस्तै विजयनगर गाउँपालिका– ७ छो–अमौलीकी विजय लक्ष्मी चौधरीले ३ वर्षदेखि आयुर्वेदिक उपचार गराउँदै आएको बताइन् । उनले नसा च्यापिएरै समस्या भएको बताउँदै पुनः जाँच र परामर्शका लागि आएको बताइन् । उनले समय बढी लागे पनि दीर्घ रोग समेत आयुर्वेदिक औषधीले निको हुने गरेको जिकिर गरिन् । यसैगरी विजयनगर–७ बडसुडवाका नन्दकिशोर कुर्मीले सबै सेवा सुविधाहरू सहज रुपमा प्राप्त गर्दै आएको बताउँदै पञ्चकर्मका लागि गम्छाहरु अपुग हुँदा समस्या देखिएकोले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । दिनहुँ बिरामीको चाप बढेकोले त्यही अनुसार आवश्यकता बढ्दै गएको उनको भनाई छ । जटिल समस्या समेत निको हुने हुँदा आयुर्वेदिक औषधी र उपचारप्रति विश्वास बढेकोले सेवा लिनेको संख्या बढ्दै गएको उनले बताए ।
यस्तै भारत सिद्धार्थनगरका श्रीराम यादवले सुगर रोगको औषधी भारतको विभिन्न अस्पतालमा गराउँदा निको नभएपछि आफन्तको सम्पर्क आएर आयुर्वेदिक औषधी प्रयोगले सुगरको उपचारमा फाइदाजनक देखिएको बताए । यस्तै भारतकै मिरा चौधरीले वाथरोग, इश्रा कर्मीले ग्याष्ट्रिक, शेषराम तेलीले दम रोगको उपचार आयुर्वेदिक औषधीले निको भएको बताउँछन् । उनीहरुले यहाँबाट स्वास्थ्य उपचार सेवा सुविधा सहज र प्रभावकारी भएको बताए ।
उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दम, खोकी, हाडजोर्नी, नसा, आवाज रोकिने, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, वाथ,अम्लपित्त लगायत सेवा लिन धेरै बिरामी आउने गरेको औषधालयले जनाएको छ।
वरिष्ठ कबिराज निरीक्षक बिमला चौधरीले पञ्चकर्म विधि सुरु भएपछि विभिन्न रोगको सफल उपचार हुँदै आएको बताएकी छन् । उनले सेवा गुणस्तर र फाइदाजनक भएपछि मानिसको आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको बताइन् । आयुर्वेद स्वास्थ्य उपचार पद्धतिमा सर्वसाधारणको आकर्षण बढ्दै गएकोले पनि औषधालयमा थप कर्मचारी राख्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।
प्राविधिक जनशक्तिमा तालिम लगायतका कार्यक्रमको खाँचो देखिएको बताइन् । उनले आयुर्वेद सेवा सम्बन्धी प्रचारप्रसार र सेवा प्रवाहका लागि ७ वटै वडामा घुम्ती शिविर र गाउँघर क्लिनिक समेत सञ्चालनमा रहेको जानकारी दिइन् । उनले आम नागरिकलाई अझै गुणस्तरीय सेवा दिनका लागि बजेट अभाव हुने गरेकोले स्थानीय सरकारले यस विषयमा थप ध्यान दिन आग्रहसमेत गरिन् ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आयुर्वेदिक उपचारका लागि सेवाग्राहीको संख्यामा बृद्धि हुँदै गएको बताउँदै गाउँपालिकाले थप बजेट विनियोजन गरि सुवा सुविधालाई गुणस्तरीय र प्रभावकारी बनाउन जोड दिएको बताए । आयुर्वेदको प्रचारप्रसार र प्रवर्द्धनका लागि गाउँपालिकाले आवश्यकता अनुसार बजेट विनियोजनको साथै घुम्ती शिविर सञ्चालन, निःशुल्क औषधी वितरण र गाउँघर क्लिनिक सञ्चालन गर्दै आएको बताए । स्थानीय र भारतीय सेवाग्राहीको समेत आकर्षण बढ्दै गएकोले सुलभ, सरल र थप प्रभावकारी सेवा प्रदानका लागि गाउँपालिकाको ध्यानाकर्षण भएको अध्यक्ष थापाको भनाई छ ।
गणेशपुर आयुर्वेद औषधालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०/०८१ को चैत्रसम्ममा ५ हजार ६ सय ५३ जनाले बिरामीले उपचार लिएका छन् । यस्तै आर्थिक वर्ष २०७९/०८० मा ४ हजार ७ सय ८० जनाले उपचार लिएका छन् । जसमा २ सय ३८ जना भारतीय नागरिकले आयुर्वेदिक सेवा लिएको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा बिरामीहरु ग्याष्ट्रिकका १ हजार, वाथरोथका १२ सय, दमका ६ सय, रक्तचापका ४ सय, मधुमेहका ६ सय, पञ्चकर्मका ७ सय ६९ जना, मातृशिशुका ६२ जना, रासायन पोषण जेष्ठ नागरिकका ९८ जना र अन्य ९ सय २४ जनालाई सेवा प्रदान गरिएको छ । यस्तै आर्थिक वर्ष २०७९/०८० मा ग्याष्ट्रिकका १५ सय, वाथरोगका १४ सय, दमका ५ सय ५० जना, रक्तचापका ३ सय, शिरोधाराका ३० जना, मधुमेहका ८ सय र अन्य गरि २ सय बढीले उपचार सेवा लिएका छन् ।