काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को विद्यार्थी महोत्सवको उद्घाटनमा जवारहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) का स्ववियु अध्यक्ष धनन्जय आउने भएका छन् ।
अनेरास्ववियुले ६०औं स्थापना दिवसको अवसरमा १ देखि ३ जेठसम्म भृकुटीमण्डपमा विद्यार्थी महोत्सव गर्न लागेको छ । महोत्सवको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र धनन्जयले संयुक्त रूपमा गर्ने अनेरास्ववियुले जनाएको छ ।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले स्थापनाको अवसरमा रचनात्मक कार्यक्रम गर्न लागेको बताए । कार्यक्रमबाट उठेको मध्ये ५ प्रतिशत रकम गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने योजना रहेको अध्यक्ष बडालले जानकारी दिए ।
महोत्सवमा १४ विधाका कार्यक्रम हुने अनेरास्ववियुका महासचिव नरेश रेग्मीले जानकारी दिए । उनको भनाइ अनुसार विद्यार्थी महोत्सवमा अनेरास्ववियुको बारेमा जानकारी दिने, लाइभ म्युजिक, लाइभ प्रोजेक्ट, करियर काउन्सिलिङ, युवा संसद् बहस र संवाद, सांस्कृतिक प्रदर्शनी, रक्तदान, स्वास्थ्य शिविर जस्ता कार्यक्रम राखिएको छ ।
त्यस्तै फुड स्टल, ई–गेमिङ प्रतियोगिता, पर्यटन भिजन, विश्वविद्यालयबारे जानकारी, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण जस्ता कार्यक्रम राखिएको रेग्मीले बताए । महोत्सवमा १५० भन्दा बढी स्टल रहनेछन् ।