कपिलवस्तुको शिवराज नगरपालिका वडा ६ का गाउँ गाउँमा पशु स्वास्थ्य शिविर सुरु गरिएको छ । वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत एक हप्ते शिविर आयोजना गरिएको शिवराज नगरपालिका पशु विकास शाखाका प्रमुख धनेश्वर खनालले बताउनुभयो ।
सामान्य बिरामी रहेका पशुहरूलाई लक्षणको आधारमा शिविरबाट औषधि वितरण गर्नुका साथै परामर्श गरिएको भए पनि स्वास्थ्यमा बढी समस्या रहेको पशुको गोठमा नै पुगेर परीक्षण गरिने खनालको भनाई छ ।
शिविरमा गाई, भैँसी, बाख्रा लगायतका पशुपन्छीको उपचार सँगै औषधी वितरण गरिएको छ । पशुपन्छीका लागि निःशुल्क औषधीसँगै उपचार तथा परामर्श सेवा प्रदान गरिने वडा अध्यक्ष मेहताव आलमले बताउनुभयो । किसानहरूको मागको आधारमा उक्त कार्यक्रम समावेश गरिएको भन्दै घरघर पुगेर पशुहरूको स्वास्थ्य उपचार गरिने बताउनुभयो ।
कृषकहरूले लगानी गरेर पशुपालन गर्दै आएको भए पनि ती पशुको स्वास्थ्य परीक्षण नहुँदा तथा बिरामी हुँदा पनि घरायसी उपचारमा अल्झिएर क्षति खेप्नुपरिरहेको अवस्था अन्त्य गर्ने प्रयास स्वरूप पशुको स्वास्थ्य शिविरको आयोजना गरिएको वडाध्यक्ष आलमले बताउनुभयो । शिविरमा जुम्रा ,जुका,चिरफार,माटे,भिटामिन,बन्ध्याकरण,गोबर परीक्षण समेत हुने बताइएको छ ।