काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूलाई कार्यालयबाट गरिएको गिरफ्तारीलाई सरकारको नवअधिनायकवादको संज्ञा दिएका छन् । प्रहरीले पक्राउ गरेर गाडीमा हाल्नुअघि उनले छोटो संवोधन गर्र्दै सरकार र गृहमन्त्रीविरुद्ध आक्रोश पोखे ।
सिरोहियाले भने, ‘६२/६३ मा ज्यानको बाजी लगाएर ल्याएको लोकतन्त्रको नतिजा यही रहेछ ।’
आफूले अनुसन्धानलाई सघाउँछु भन्दाभन्दै सरकारले अधिनायकवादी चरित्र देखाएको उनले बताए । आफ्नो गिरफ्तारीलाई उनले प्रेस स्वतन्त्रतामाथिको कुठाराघातको संज्ञा पनि दिए । ‘यो प्रेस स्वतन्त्रतामाथिको कुठाराघात हो, म अन्तिमसम्म लड्छु’, सिरोहियाले भने ।
उनले गृहमन्त्रीको समेत दुईवटा पासपोर्टको मुद्दा भएको बताए ।
‘उजुरीकै आधारमा पक्राउ गरिन्छ भने मेरो उजुरीलाई आधार मानेर गृहमन्त्रीमाथि वारेन्ट जारी हुने विश्वासमा छु । उहाँको नाममा भोलि वारेन्ट जारी हुने अपेक्षा छ’, सिरोहियाले भने ।