
कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाले सर्पदंशका बिरामीको उपचारमा सहयोग पुर्याउन निःशुल्क औषधी उपचार को ब्यवस्था मिलाएको छ । नगरपालिकाले अतिविपन्न एवम गरीव परिवारलाई लक्षित गर्दै कपिलवस्तुको गोरुसिंगे सर्पदशं उपचार केन्द्रमा निशुल्क उपचारको ब्यवस्था मिलाएको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले बताउनु भयो ।
औषधी उपचारसंगै पालिकाले उपचार केन्द्रसम्म पुग्नको लागि निशुल्करुपमा एम्बुलेन्स सेवासमेत दिने प्रमुख थापाले बताउनु भयो । वर्षासँगै सर्पदंशका घटनाहरू वृद्धि हुने गरे भन्दै नगरबासि कसैले पनि आर्थिक अभावले छिटो उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस भन्दैै निःशुल्क औषधी उपचार र यातायातको ब्यवस्था गरेको बताउनु भयो ।
शुक्रबार मात्रै समयमै उपचार नपाउँदा शिवराज नगरपालिका वडा १० कि एक महिलालाई सर्पले डस्दा मृत्यु भएको छ । दिउसो सर्पले डसेर बिरामी भएकी ६५ वर्षकी महिलाले समयमा उपचार नपाएका कारण मृत्यु भएको थियो ।
सर्पको डसाईबाट कसरी बच्ने ?
– आफ्नो ठाँउ वरिपरि पाइने सर्पहरुको बारेमा जानकारी राख्ने। ती कस्तो ठाँउमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्नुपर्छ।
-वर्षाको समयपछि खेत रोपाइका बेलामा सर्पको बारेमा विशेष ध्यान पुर्याउनुपर्छ। किनभने यस्तो बेला सर्पहरु बाहिर निस्कने सम्भावना बढी हुन्छ।
– रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ति, टर्चलाइट, लालटिन, लठ्ठी लिएरमात्रै निस्कने गर्नुपर्छ। एक अध्ययनका अनुसार करिब ७५ प्रतिशत विषालु सर्पको डसाइका घटनाहरु रातको समयमा भएको पाइएको छ।
– सर्प पाइनसक्ने ठाँउमा जानुपर्दा घुँडासम्म आउने बाक्लो जुत्ता, रबरको बुट र पूरा खुट्टा छोप्ने बाक्लो पाइन्ट लगाउने गर्नुपर्छ।
– जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नांगो हातले समाउने गर्नु हुँदैन। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। त्यसैले सकेसम्म खाली हातले छुने वा समाउने कोशिस गर्नु हुँदैन।
– सम्भव भएसम्म भुइँमा नसुत्ने। सुत्दा झुल लगाएर सुत्ने बानी गर्नुपर्छ।
-रुख अथवा जमिनमा भएका प्वालहरुमा जथाभाबी हात छिराउनु हुँदैन।
-जुत्ता लगाउँदा जुत्ताभित्र राम्रोसँग हेरेरमात्रै लगाउनुपर्छ।
– भ्यागुता, मुसा, चरा, छेपारो आदि सर्पका आहारा भएकाले तिनलाई सकेसम्म घरभित्र बस्न दिनुहुँदैन।
– सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली हाल्नुपर्छ।
– बालबालिकाहरुलाई सर्प हुनसक्ने ठाउँहरुका बारेमा जानकारी दिने र सावधान रहन सिकाउनुपर्छ।
– सर्पको डसाइमा गरिने प्राथमिक उपचार थाह पाइराख्ने र प्रतिविष पाइने नजिकको स्वास्थ्य संस्था वा अस्पतालका बारेमा जानकारी राख्नुपर्छ।