
नवराज पौडेल ,कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा सामाजिक सुरक्षा भत्ता दर्ता शिविर अभियान सुरु भएको छ ।
वडा जनप्रतिनिधि र कर्मचारीहरूले जनतालाई प्रभावकारी सेवा प्रदान गर्न घरदैलो अभियान शुरु गरेका छन्। यस अभियान अन्तर्गत, अति विकट र दूरदराजका क्षेत्रमा रहेका नागरिकहरूको समस्या र आवश्यकता बुझ्नको लागि वडाका प्रतिनिधिहरू प्रत्यक्ष रूपमा घरघरमा पुग्दैछन्।
विशेष गरी, मैनार र बुलकिया गाउँका वृद्ध र ५ वर्ष मुनिका बालबालिकाहरूको सामाजिक सुरक्षा भत्ता नवीकरणको प्रक्रिया प्रारम्भ गरिएको छ। यो कदमले समृद्धि र सामाजिक सुरक्षा प्रवर्धन गर्ने उद्देश्य राखेको छ। सामाजिक सुरक्षा भत्ता नवीकरणको प्रक्रिया हरेक वृद्ध र बालबालिकाका लागि समयमै र सहज ढंगले सम्पन्न होस् भन्ने सुनिश्चित गर्नका लागि वडाका प्रतिनिधिहरू सक्रिय रहेका छन्।
शिवराज नगरपालिका वडा न ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले आज सामाजिक सुरक्षा भत्ता दर्ता शिविरमा लाभग्राहीलाई नविकरण निस्सा हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नु भएको हो ।
अध्यक्ष सापकोटाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा नम्बर ३ का सबै गाउँहरूमा जनप्रतिनिधिहरू र कर्मचारीहरूले प्रत्यक्ष सेवा प्रदान गर्ने बताउनु भयो । यसले गर्दा नागरिकहरूले कुनै पनि समस्या वा झन्झटको सामना नगरी आफ्नो भत्ता समयमै प्राप्त गर्न सक्ने जनाउनु भयो । साथै, यस प्रक्रियाले जनतामा सरकारप्रतिको विश्वास र सम्बन्धलाई सुदृढ पार्ने अपेक्षा गरिएको बताउनु भयो ।
यो अभियानले सरकारले जनतालाई सेवा र सहयोग पुर्याउने प्रतिबद्धता देखाएको छ र समाजको समग्र विकास र सुरक्षामा सकारात्मक प्रभाव पार्ने उहाको भनाइ रहेको थियो ।