कपिलवस्तु -सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्यालले सीमा सुरक्षामा बलको ठोस भूमिका रहेको बताउनु भएको छ। ५ नं. बिन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीको चन्द्रौटामा सातौं स्थापना दिवसको अवसरमा उहाँले सशस्त्र प्रहरीले अपराध नियन्त्रण र राजस्व चुहावट रोक्न महत्वपूर्ण योगदान गरेको बताउनु भयो।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देही, चन्द्रौटाको सातौं स्थापना दिवसमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अभिकुमार खत्रीले प्रदेश भित्र सशस्त्र प्रहरी बलले गरेका उपलब्धिहरूको विस्तृत विवरण प्रस्तुत गर्नु भएको थियो । उहांले सशस्त्रको भूमिकाले राज्यको सुरक्षा प्रणालीलाई सुदृढ बनाएको र नागरिकहरूको विश्वास जित्न सफल भएको उल्लेख गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले सशस्त्र प्रहरी स्थानीय तहको सहकार्यले सुरक्षाको प्रत्याभूति मात्र होइन, राज्यसत्ता र नागरिकबीचको सम्बन्धलाई पनि बलियो बनाएको बताउनु भयो ।
कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सशस्त्र प्रहरी बलले स्थापना पश्चात् द्वन्द्व नियन्त्रण, सीमा सुरक्षा, विपद् व्यवस्थापन, र आपराधिक गतिविधि नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।
सातौं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, र सुरक्षासँग सम्बन्धित विभिन्न निकायका प्रमुखहरूको उपस्थिति थियो। कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट व्यक्तिहरूलाई सम्मान गरिएकोवथियो ।