केशव बेल्वासे, कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटामा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालमा आजदेखि स्वास्थ्य बिमा (प्रथम बिन्दु) कार्यक्रम शुभारम्भ भएको छ । बिमा लागु भएपछि बिमित सेवाग्राहीले १२ सय प्रकारका औषधि बिमा मार्फत प्राप्त गर्न सक्नेछन् ।
कार्यक्रमको उद्घाटन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले स्वास्थ्य बिमा कार्यक्रम पस्चात उपरचारको लागि बुटवल जान नपर्ने बताउदै जनप्रतिनिधी, कर्मचारी र स्वास्थ्यकर्मि सबैलाइ अहोरात्र खटेर काम गर्न आग्रह गर्नुभयो ।
थुप्रै चुनौतिहरु रहेता पनि त्यसको सामना गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले स्वास्थ्य सेवामा पहुँचलाई थप प्रभावकारी बनाउन स्थानीय तहले निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र बेल्वासेले शिवराजबासीलाई स्वास्थ्यमा थप पहुँच विस्तार गर्न स्वास्थ्य बीमा सेवा लागू गरिएको बताउदै अस्पतालले स्थानीय बासिन्दालाई सरल र सुलभ सेवा प्रदान गर्ने लक्ष्य राखेको बताउनुभयो ।
कार्यक्रमका वक्ताहरूले बिमा प्रक्रिया अनलाइन पद्धति बाट कार्यान्वयन गर्नुपर्नेहुदा थुप्रै चुनौती रहेपनि यसलाई सफल बनाउन सवै लागुपर्नेमा जोड दिएका थिए ।
समारोहमा संस्थापक नगर प्रमुख नेत्रराज अधिकारी, वडा अध्यक्ष टेकलाल सापकोटा, व्यापार संघ केन्द्रीय सदस्य महादेव पोख्रेल, मानव अधिकारी प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडा, स्वास्थ्य बिमा बोर्डका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले स्वास्थ्य बीमाको औचित्य र प्रभावकारिताबारे जानकारी गराउनुभएको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्वासेको अध्यक्षता र नगर प्रमुख अजय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मीहरू, बीमा अभिकर्ता, महिला स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।
कोरोनाकालमा निर्माण भएको भवनबाट सेवा प्रदान गरिरहेको अस्पतालले पछिल्लो समय छुट्टै भवन बाट पोस्टमार्टम सेवा पनि प्रदान गर्दै आइरहेको छ ।