
कपिलवस्तु -नेकपा एमाले शिवराज नगरकमिटीले चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश एवम् पुनर्मिलन कार्यक्रम आयोजना गरेको छ। विजयादशमी, शुभ दिपावली, र छठ पर्वको अवसरमा गरिएको कार्यक्रममा २५० भन्दा बढी नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। प्रमुख रूपमा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य छविलाल शर्माको नेतृत्वमा नेकपा एमालेमा प्रवेश गर्नेमध्ये प्रदेश कमिटी सदस्य जित बहादुर रावत, कपिलवस्तु जिल्ला सचिव सरोज पौडेल, र जिल्ला सदस्य बलबहादुर विश्वकर्मा छन्। यस्तै, नेपाली कांग्रेस, माओवादी केन्द्र, र लोसपाका नेता तथा कार्यकर्ताहरूले पनि एमाले प्रवेश गरेका छन्।
कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय कमिटी सदस्य तथा नेपाल सरकारका भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्तव्य राख्दै, समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पूरा गर्न नेकपा एमालेको एकता र सहकार्यलाई विशेष जोड दिए। उहाँले अन्य पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नु पार्टीको सशक्तीकरण र देशको विकासको लागि महत्वपूर्ण रहेको बताए। उहाँले नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत हासिल गर्ने विश्वास व्यक्त गर्दै सबैलाई अभियानमा एकजुट भएर लाग्न आह्वान गरे। साथै, प्रविधिको युगमा सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोग गर्न कार्यकर्ताहरूलाई सचेत गराउनुभयो।
विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गिरिधारीलाल न्यौपानेले एमालेको सशक्त संगठन र जनताको सेवाका लागि प्रवेश गर्ने कार्यकर्ताहरूलाई धन्यवाद व्यक्त गर्दै पार्टीको योगदान र भविष्यका योजनाहरूमा चर्चा गरे।
कार्यक्रममा एमाले नगर कमिटी अध्यक्ष महादेव पोखरेलले नेता कार्यकर्ताहरूलाई स्वागत गर्दै, पार्टीमा नयाँ प्रवेश गरेका सदस्यहरूलाई एकताबद्ध भई पार्टीको मार्गनिर्देशनमा लाग्न आह्वान गरे। उहाँले नेकपा एमालेले शिवराज नगरपालिकामा नेतृत्वदायी भूमिका खेल्दै आएको र यसलाई अझ बलियो बनाउनको लागि सबैको समर्थन आवश्यक रहेको बताए।
अन्य वक्ताहरूमा पार्टी जिल्ला अध्यक्ष बाबुराम खनाल, प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, अर्जुन कुमार केसी लगायतले पनि शुभकामना दिएका थिए।
कार्यक्रम एमाले नगर कमिटी अध्यक्ष महादेव पोखरेलको अध्यक्षता र सचिव रोशन एमसीको सञ्चालन, एमाले उपाध्यक्ष टेकलाल सापकोटाको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो।