‘सम्मानित अदालतप्रति आशा र विश्वास राख्दछु । भन्न त यहाँ अदालतलाई पनि मिलाउँला, तलाईं चुनावै लड्न नसक्ने गरी र तेरो पार्टी नफुटाइन कहाँ छोडौंला र भनेर मान्छेहरु लागेको मलाई राम्रोसँग थाहा छ’, केन्द्रीय कार्यालयमा भेला भएका कार्यकर्ताहरुलाई लामिछानेले भनेका थिए ।
यसको अर्थ आफ्नो पक्षमा निर्णय नहुन पनि सक्ने शंकासहित लामिछानेले अदालतबारे बोलेका छन् । त्यसपछि रास्वपाले लिएको निर्णयले पनि अदालतको निर्णयप्रति विश्वास नरहेको बुझ्न सकिन्छ ।
शनिबार बिहान लामिछानेलाई पोखरा लगिएपछि रास्वपाको सम्पूर्ण शक्ति पोखरा केन्द्रित छ । ४ दिनदेखि फरक–फरक स्थानमा प्रदर्शन गरिरहेका छन् । शनिबार चिप्लेढुङ्गा, आइतबार शहीदचोक, सोमबार पृथ्वीचोक नयाँ बजार महेन्द्रपुल हुँदै चिप्लेढुङ्गा र मंगलबार जिरो किलोमिटरमा प्रदर्शन गरेका छन् । उनीहरुको निष्कर्ष छ, राजनीतिक प्रतिशोधका कारण रवि लामिछानेलाई पक्राउ गरियो ।