
चैत्र २३ गते /कपिलवस्तु
प्रेस चौतारी कपिलवस्तुको दोस्रो नियमित बैठक सम्पन्न भएको छ । बैठकले कार्यसमिति सदस्यमा गुलाम अलीलाई मनोनित गर्नेसहितका विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले आगामी वैशाख ८ गते नयाँ बर्षको शुभकामना आदानप्रदानसंगै प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।
प्रेस चौतारीका केन्द्रिय लेखा समितिका अध्यक्ष अर्जुन श्रेष्ठले आगामी पत्रकार महासंघको निर्वाचनको तयारीका लागि आजैबाट जुट्नुपर्ने बताए । चौतारीले अन्य पत्रकार संगठनभन्दा पृथक भएको उदाहरण प्रस्तुत गर्दै आगामी दिनमा एकतावद्ध भएर थप शसक्त रुपमा अघि बढ्न आग्रह गरे ।
नेकपा एमालेले देशभर संचालन गरेको बृहत जनसभा अन्र्तगत चैत्र २९ गते हुने बुटवलमा बृहत जनसभा २०८१ लाई सफल बनाउन सबै लाग्नुपर्ने प्रमुख वक्ता नेकपा एमाले कपिलवस्तुका जिल्ला कमिटी सचिव सिवि गहतराजले जोड दिनुभयो । अहिलेको समय सामाजिक संजालको समय भएकाले चौतारीका पत्रकारहरुले विवेकपूर्ण तवरले पार्टीका गतिविधिलाई प्राथमिकता दिएर प्रचारप्रसार गर्नुपर्ने उहाको भनाई छ ।
प्रेस चौतारी कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझिले चौतारीलाई थप सुदृढ बनाएर अघि बढाउन आफ्नो टिम विगतमा भन्दा पृथक तरिकाले लागेको बताए । उनले पार्टीका गतिविधिलाई प्राथमकिता दिएर समाचारका माध्यमबाट प्रकाशन गरिरहेको बताए । उनले कार्ययोजना सहित प्रेस चौतारी कपिलवस्तु एकबद्ध भएर अघि बढिरहेको बताए ।
सो बैठकमा प्रेस चौतारीको केन्द्रिय र प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।