प्रेस स्वतन्त्रताको हक सुनिश्चितका लागि प्रेस चौतारी प्रतिवद्ध : अध्यक्ष पाण्डे

बैशाष २० गते कपिलवस्तु
प्रेस स्वतन्त्रताको हक सुनिश्चितका लागि प्रेस चौतारी नेपाल सदैव प्रतिवद्ध रहेको केन्द्रिय अध्यक्ष गणेश पाण्डेले बताएका छन् । प्रेस चौतारी लुम्बिनी प्रदेशले प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धी अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष पाण्डेले पत्रकारहरुको पेशागत सुरक्षा संगै पारिश्रमिकको सुनिश्चिता हुनुपर्ने बताए । अध्यक्ष पाण्डेले नागरिकलाई सुशुचित गर्दै समाजलाई सकरात्मक दिशातर्फ लैजानका लागि पत्रकारले तथ्यगत विषय उठान गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष पाण्डेले प्रेस चौतारी नेपाल व्यवसायिक पत्रकारहरुको हकहितका लागि सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सुचना प्रविधिलाई प्रयोग गरी मर्यादित व्यवसायिक पत्रकारीता गर्न अनुरोध गरे ।


यसैगरी कार्यक्रमका प्रमुख वक्ता नेकपा एमाले केन्द्रिय सदस्य तथा कपिलबस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले पत्रकार गणतन्त्रको गहना भएको बताउदै जहाँ लोकतन्त्र छ त्यहा प्रेस स्वतन्त्रता सुनिश्चित हुने बताए । उहाँले देशको विकास र जनताको जिवनस्तर उकास्ने काम नेकपा (एमाले) ले मात्र गरेको दाबी गर्दै त्यहीकारण एमाले माथी घेराबन्दी भएको बताए ।
यस्तै कार्यक्रममा संगठनका केन्द्रिय उपाध्यक्ष चेतन अधिकारीले प्रेस चौतारी नेपालमा आबद्ध पत्रकारहरुले खोज मुलक समाचार लेखन क्षमताको विकास गर्नुपर्नेमा जोड दिए । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश इन्चार्ज मोहन चापागाईले प्रशिक्षण दिदै संगठनको विधान, निती र आगामी कार्ययोजनाको बारेमा स्पष्ट पारे ।कार्यक्रममा नेकपा (एमाले) केन्द्रिय प्रचार तथा प्रकाशन विभागका सदस्य शेरबहादुर केसीले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।


यसैगरी लुम्बिनी प्रदेशका प्रचार तथा प्रकाशन विभाग प्रमुख डिआर घिमिरेले कार्यपत्रमाथि टिप्पणी गर्दै सरकारी कार्यालयका विज्ञापन सबै मिडियालाई समानुपातीक रुपमा वितरण गर्नुपर्ने जसले मिडियामा आउने आर्थिक संकटलाई न्युनिकरण गर्न सकिने बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य पार्वती पाण्डे, नेपाल पत्रकार महासघंका जिल्ला सचिव शनिउल्लाह धोबी लगाएतले मन्तव्य राख्दै कपिलबस्तुमा संख्यात्मक रुपमा पत्रकारको विकास भएको र अब गुणात्मक रुपमा पनि विकास हुनुपर्नेमा जोड दिए ।
सोही कार्यक्रम मार्फत संचार श्रमिक सम्मान अन्तरगत ६ जना पत्रकारलाई नगद र सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रमका अध्यक्ष शोभाखर पन्थीले विकास, समृद्धि र शुसासनका निम्ती प्रेस चौतारीले अभियान अगाडी बढाउन जरुरी रहेको बताउदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै प्रति धन्यवाद व्यक्त गरे । प्रदेश महासचिव हरि अधिकारीको संचालन तथा चौतारी जिल्ला अध्यक्ष बाबुराम रायमाझीको स्वागत मन्तव्यमा कायक्रम सम्पन्न भएको हो ।

धेरै पढिएको

ताजा समाचार