जेठ ०७ गते /कपिलवस्तु
शिवराज नगरपालिकाले बालश्रम निषेध सम्बन्धी चेतावनी सहितको सूचना जारी गर्दै १८ वर्ष मुनिका बालबालिकालाई जोखिमयुक्त काममा संलग्न नगराउन सबैलाई आग्रह गरेको छ ।
नगरपालिकाले संविधान र श्रम ऐनको व्यवस्थालाई स्मरण गराउँदै इटाभट्टी, उद्योग–कलकारखाना, खानी, होटल, ठेलागाडी, पसल तथा घरेलु काम जस्ता क्षेत्रमा बालबालिकालाई श्रमिकको रूपमा प्रयोग गर्नु गैरकानुनी भएको पालिकाले स्पष्ट पारेको छ ।
शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, “बालबालिकालाई यस्ता काममा संलग्न गराएको भेटिएमा सम्बन्धित व्यक्ति विरुद्ध कानून अनुसार कडा कारबाही हुनेछ ।” बालबालिका शारीरिक र मानसिक रूपमा संवेदनशील हुने भएकाले उनीहरूलाई शिक्षा र संरक्षणको वातावरण दिनुपर्ने नगरपालिकाको भनाइ छ ।
साथै, अभिभावक, व्यवसायी, उद्योग सञ्चालक, तथा अन्य सरोकारवाला निकायहरूलाई सूचित गरिँदै कानूनी दायित्व पालन गर्न र बालमैत्री समाज निर्माणमा साथ दिन अपिल गरिएको छ ।
शिवराज नगरपालिकाले बालअधिकारको संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अनुगमनलाई अझ सशक्त बनाइने जनाएको छ ।









