राम प्रघट कोरी कपिलवस्तु, जेठ २१ –
“जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस–२०८२” को अवसर पारेर मुक्ति समाज नेपाल, लुम्बिनी प्रदेश कमिटीको पूर्ण बैठक, शुभकामना आदानप्रदान, बधाई तथा सम्मान कार्यक्रम कपिलवस्तुको चन्द्रौटामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटी पार्टी सचिव लक्ष्मण आचार्यले जातीय भेदभाव र छुवाछूतको जरा गहिरो रहेको बताउँदै सामाजिक रूपान्तरणको आन्दोलनलाई सशक्त बनाउन ऐक्यबद्धता, विधिसम्मत संगठन निर्माण र वैचारिक स्पष्टता अनिवार्य रहेको धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “जातीय भेदभाव र छुवाछूत केवल सामाजिक समस्या मात्र होइन, यो संविधान र मानव अधिकारको समेत उल्लंघन हो। यसलाई अन्त्य गर्न कानुनलाई अझै बलियो बनाउँदै व्यवहारमै लागू गर्ने अवस्था सिर्जना गर्नुपर्छ।” उहाँले राष्ट्रिय सम्मेलनले दिएको जिम्मेवारीप्रति इमान्दार भएर सबै जिल्लामा नतिजामूलक र संगठनात्मक रूपमा सक्रिय हुन आवश्यक रहेको पनि स्पष्ट गर्नुभयो। विशिष्ट अतिथि तथा सल्लाहकार परिषदका केन्द्रीय अध्यक्ष नन्द विश्वकर्माले अझै पनि समाजमा विभेदजन्य घटना घटिरहेको उल्लेख गर्दै सबै नागरिकले समानताको आधारमा सम्मानपूर्वक जीवन यापन गर्न पाउने हक सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
कपिलवस्तु जिल्ला पार्टी सचिव सि. बी. गहतराजले जातीय विभेदको अन्त्यका लागि कानुनी संरचना अझ सशक्त बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले विभेदविहीन समाज निर्माणका लागि समुदाय र सरकारबीच सहकार्य जरुरी रहेको धारणा राख्नुभयो। त्यसैगरी, प्रदेश अध्यक्ष कृष्ण विश्वकर्माले भन्नुभयो, “मुक्ति समाजको आन्दोलनले लामो संघर्ष गर्दै यहाँसम्म आइपुगेको छ, अब यो आन्दोलनलाई अधिकारको संस्थागत सुनिश्चिततासम्म पुर्याउनुपर्ने बेला आएको छ।” उहाँले प्रदेश, जिल्ला र स्थानीय तहमा संगठन विस्तारसँगै सामाजिक चेतनाको अभियान चलाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा हालै सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित १९ जना केन्द्रीय सदस्यहरू, सल्लाहकार परिषदका अध्यक्ष–उपाध्यक्ष, निर्वाचन आयोग, लेखा आयोग तथा अनुशासन आयोगका ९ सदस्यहरू, साथै ६ जना जिल्ला अध्यक्षहरूलाई बधाई तथा सम्मान गरिएको थियो। त्यसैगरी, १० जना नेताहरूलाई प्रदेश कमिटीमा मनोनयन गरिएको छ। मनोनित सदस्यहरूमा रुपन्देहीबाट दिपेन्द्र विश्वकर्मा र हेम विश्वकर्मा, कपिलवस्तुबाट कृष्ण सुनार, अर्घाखाँचीबाट अनिता सुनार र कृष्ण सुनार, प्युठानबाट रेखा परियार र लालबहादुर सुनार, दाङबाट पुलबहादुर गोतामे, बर्दियाबाट भक्तबहादुर विकलगायत रहनुभएको छ। बैठकले आगामी कार्तिक मसान्तसम्म रुपन्देहीमा दोस्रो प्रदेश सम्मेलन र कार्तिक महिनाभित्र जिल्ला सम्मेलनहरू सम्पन्न गर्ने निर्णय पनि गरेको छ। कार्यक्रममा हरिश्चन्द्र विश्वकर्मा, तेजप्रसाद विश्वकर्मा, निर्मला विश्वकर्मालगायत नेताहरूले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो।










