गर्भवती महिलाका लागि शिवराजको उपहार – भिडियो एक्सरे, जाँच र एम्बुलेन्स सेवा निःशुल्क”

भाद्र १८ गते कपिलवस्तु

शिवराज नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक र जीवनरक्षक पहल सुरु गर्दै भिडियो एक्सरे सेवा निःशुल्क बनाएको छ। गर्भवती महिलाको स्वास्थ्य परीक्षणलाई केन्द्रमा राख्दै सुरु गरिएको यो सेवा नगरभित्रका स्वास्थ्य संस्थामार्फत उपलब्ध गराइनेछ। साथै, डेलिभरी केसमा एम्बुलेन्स निःशुल्क, र सर्पदंशमा निःशुल्क एम्बुलेन्ससहित औषधि उपचारको व्यवस्था समेत मिलाइएको छ। कपिलवस्तु जिल्लामै पहिलो पटक यस्तो व्यापक र लक्षित स्वास्थ्य सेवा कार्यक्रम संचालनमा आएको हो।

शिवराज नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम अन्तर्गत, गर्भवती महिलाहरूको स्वास्थ्य अवस्था समयमै परीक्षण र मूल्याङ्कन गर्न अत्यन्तै उपयोगी मानिने भिडियो एक्सरे सेवालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको नगर प्रमुख अजय थापाले जानकारी दिनुभयो ।

नगरपालिकाअन्तर्गत आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटामा भिडियो एक्सरे सेवा सुरु गरिएको हो। अब गर्भवती महिलाले विभिन्न जोखिमयुक्त अवस्थाको पहिचान, गर्भको अवस्था बुझ्ने, हड्डी तथा पेटसम्बन्धी समस्याको परीक्षणजस्ता अत्यावश्यक सेवा निःशुल्क रूपमा पाउनेछन्।

स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईका अनुसार, गर्भकालमा एक्सरे अत्यन्त संवेदनशील परीक्षण हो। अब कुनै शुल्क नलिई, दक्ष स्वास्थ्यकर्मीको निगरानीमा गुणस्तरीय सेवा दिइनेछ।
गर्भवती महिलाको सुरक्षित प्रसूति सुनिश्चित गर्न, सुत्केरी हुने बेलामा अस्पताल लैजान नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आइरहेको छ । घरमै पीडा सुरु भएलगत्तै वडाका स्वास्थ्य संयोजक वा हेल्थ पोस्टमार्फत सम्पर्क गरेपछि तत्काल एम्बुलेन्स उपलब्ध हुने व्यवस्था गरिएको छ।

नगर प्रमुख अजय थापाका अनुसार, “सुत्केरी महिलालाई ढुवानी गर्ने बेला पैसाको अभावमा कुनै ढिलासुस्ती नहोस् भनेर हामीले एम्बुलेन्स निःशुल्क गरेका छौं। यो सेवा नगरका हरेक वडाबाट उपलब्ध हुनेछ।
शिवराज नगरपालिकाभित्र सर्पले डसेमा तुरुन्तै एम्बुलेन्समार्फत अस्पताल पु¥याउने व्यवस्था गरिएको छ। साथै, सर्पदंशको उपचारमा लाग्ने औषधि तथा सुईहरू समेत निःशुल्क दिइने नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ।
विशेषगरी वर्षायाममा सर्पदंशका घटना बढ्ने भएकाले, यस्तो समयमा तुरुन्त सेवा दिन सकिने पूर्वतयारीसहित नगरपालिकाले यसलाई स्थायी कार्यक्रमका रूपमा अघि सारेको छ।
नयाँ बजेटअनुसार आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटा प्रयोगशाला जाँच + भिडियो एक्सरे सेवा, शिवपुर स्वास्थ्य चौकी ,चनई स्वास्थ्य चौकी , शिवगढ़ी स्वास्थ्य चौकी ,सेवा उपलब्ध हुने जनाइएको छ ।
भर्खरै भिडियो एक्सरे सेवा लिएकी एक गर्भवती महिला राधिका थापाले भनिन्, “पहिले एक्सरे गर्न बुटवल जानुपर्थ्यो, अब चन्द्रौटामै निःशुल्क भयो। समय र पैसा दुवै बच्यो।”

सर्पदंशको घटनामा उपचार लिएका किसान तुलसीराम चौधरी भन्छन्, “रातको समयमा सर्पले डस्यो, नगरप्रमुख अजय थापालाइ फोन गरेपछि एम्बुलेन्स आयो। अस्पतालमा औषधि पनि निःशुल्क पाएँ।
नगर प्रमुख थापाले भने, “शिवराज नगरपालिका ‘जनताको स्वास्थ्य, हाम्रो प्राथमिकता’ भन्ने मूलमन्त्रमा चलिरहेको छ। एक्सरे सेवा, सुत्केरीका लागि एम्बुलेन्स, र सर्पदंशमा औषधि सबै हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम हुन्।
कपिलवस्तु जिल्लामा यति विस्तारित, लक्षित र निःशुल्क स्वास्थ्य सेवा सञ्चालनमा ल्याउने यो प्रथम नगरपालिका भएको नगरपालिका रहेको छ । अन्य पालिकाहरूका लागि यो नमुना कार्यक्रम बन्नसक्ने जनस्वास्थ्य विज्ञहरूको मत छ।
शिवराज नगरपालिकाले सार्वजनिक स्वास्थ्य सेवा पहुँच योग्य, गुणस्तरीय र निःशुल्क बनाउने अभियानको थालनी गरिसकेको छ। भिडियो एक्सरे सेवाबाट गर्भवती महिलाको स्वास्थ्य सुरक्षा, सुत्केरी अवस्थाको सहजता, र सर्पदंशका ज्यानमारा अवस्थामा तुरुन्तै उपचार उपलब्ध गराउनु वास्तवमै नागरिक केन्द्रित प्रशासनको प्रतीक हो।
अब, नागरिकहरू निःशुल्क, सहज र विश्वासिलो सेवा पाउने अवस्थामा पुगेका छन् — जसले मातृत्व सुरक्षित गर्ने मात्र होइन, जनताको जीवन र आत्मविश्वास दुबै बढाउने निश्चित छ।

धेरै पढिएको

ताजा समाचार