शैक्षिक गुणस्तरका लागि अभिभावक शिक्षा सम्पन्न ।


चन्द्रौटा, कपिलवस्तु
शैक्षिक गुणस्तर सुधार गर्न राष्ट्रिय माध्यमिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम गरेकोे छ ।
सामुदायिक विद्यालयप्रति अभिभावकको चासो घट्दै गएपछि विद्यालय र अभिवादकबीच सुमधुर सम्बन्ध कायम गर्न अभिभावक शिक्षा कार्यक्रम गरिएको हो । विद्यार्थीका अभिभावकलाई बालबालिकाप्रति जवाफदेही र उत्तरदायी बनाउन अभिभावक अन्तरक्रिया गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले जानकारी दिनुभयो । विद्यार्थी, अभिभावक र वर्तमान समयको मागलाई मध्यनजर गर्दै नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको प्र.अ. अधिकारीले बताउनुभयो । प्र.अ. अधिकारीले भन्नुभयो : “आफूहरू एक्लैले मात्रै यो चाहना पुरा नहुने हुँदा सबै अभिभावकहरु आफ्ना बालबालिकाका बानी व्यहोरा अनि संस्कारप्रति उत्तरदायी हुनुपर्छ ।“
कार्यक्रमका सहभागीहरूले अभिभावकको चाहना पनि आफ्नो बालबालिका अंग्रेजी भाषमा सक्षम भएको देख्न चाहेको औंल्याएका थिए । छोराछोरीको भविष्यप्रति आफ्नो पनि कमजोरी भएको महसुस गर्दै आगामी दिनमा छोराछोरीको भविष्य उज्ज्वल बनाउन विद्यालयसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वि.व्यअ.स. सदस्य विष्णु भुसालले विद्यार्थीहरूको लगनशिलता, शिक्षकको मिहिनेत र अभिभावकको उत्तरदायित्व सन्तुलित भएमा मात्र विद्यार्थी असल र सक्षम बनाउन सक्ने सुझाव दिनुभयो । उहाँले शिक्षक, विद्यार्थी र अभिभावक एकअर्काका परिपूरक भएकाले सम्पूर्णले आ–आफ्नो ठाउँबाट कर्तव्य निर्वाह गर्न आग्रह गर्नुभयो ।
कक्षा ५ मा अध्ययनरत विद्यार्थी, अभिभावक तथा विषयगत शिक्षकहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन अंग्रेजी माध्यम संयोजक देवीराम पाण्डे सञ्चालन गर्नुभएको थियो ।

धेरै पढिएको

ताजा समाचार