नेपाली कांग्रेसका प्रभावशालि नेता कनौडिया एमाले प्रवेश


कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर ३ मा पछिल्लो समय तीव्र राजनीतिक हलचल देखिएको छ। नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि एकल नाम सिफारिस गराएका वीरेन्द्रकुमार कनौडिया एकाएक नेकपा एमालेमा प्रवेश गरेसँगै यहाँको राजनीतिक समीकरण फेरिएको हो।

उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओली ले औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्। कनौडियाको प्रवेशलाई एमालेले कपिलवस्तु–३ मा आफ्नो चुनावी शक्ति सुदृढ गर्ने रणनीतिका रूपमा हेरेको छ।

तर कनौडियाको प्रवेशप्रति एमालेभित्रै असन्तुष्टि देखिएको छ। लामो समयदेखि पार्टीमा योगदान दिएका स्थानीय नेताहरूलाई पाखा लगाएर बाहिरबाट आएका व्यक्तिलाई टिकट दिने तयारी गरिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरिरहेका छन्। पार्टीभित्र मेहनत गर्दै आएका कार्यकर्ताको मनोबल गिर्दै जाने र संगठन कमजोर हुने चिन्ता उनीहरूले सार्वजनिक तथा आन्तरिक रूपमा उठाइरहेका छन्।

यस घटनाले कपिलवस्तु क्षेत्र नम्बर ३ को चुनावी राजनीति थप रोचक र चुनौतीपूर्ण बन्दै गएको छ। कनौडियाको प्रवेशले एमालेलाई कति फाइदा पुग्ने र आन्तरिक असन्तुष्टिले कस्तो प्रभाव पार्ने भन्ने विषय आगामी दिनमा स्पष्ट हुने राजनीतिक विश्लेषकहरू बताउँछन्।

धेरै पढिएको

ताजा समाचार