कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका–११ जाबुनबगियामा दुना टपरी उद्योगको औपचारिक उद्घाटन गरिएको छ। कालिका कृषि समूहको अगुवाइमा सञ्चालनमा आएको उक्त उद्योगको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले उद्घाटन गरेका हुन्।
उद्योगको उद्घाटन गर्दै नगर प्रमुख थापाले उद्योग स्थापना गर्नु सकारात्मक सुरुवात भएको बताए। उनले कुनै पनि व्यवसाय सुरु गर्नु राम्रो पक्ष भए पनि त्यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण हुने भन्दै उद्योगको दिगोपनमा विशेष जोड दिन आग्रह गरे।
प्रमुख थापाले प्लाष्टिकजन्य सामग्रीको विकल्पमा दुना टपरीको प्रयोग वातावरण मैत्री हुने भन्दै यस्तो उद्यमलाई पालिकाको तर्फबाट सधैं सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे।
समुदायमा पछाडि परेका तथा विपन्न परिवारका महिलाहरूको आर्थिक स्तर उकास्न र उनीहरूको पहुँच वृद्धि गर्नका लागि उद्योग स्थापना गरिएको हो। सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको साझेदारीमा सञ्चालित ‘स्थानीय अधिकार कार्यक्रम’ अन्तर्गत उद्योगका लागि सहयोग गरिएको संस्थाका अध्यक्ष त्रिलोचन घिमिरेले जानकारी दिए।
कालिका कृषि समूहकी अध्यक्ष रिता शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सुशीला उचाइले स्वागत मन्तव्य राखेकी थिइन्।











