कपिलवस्तु ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर–३ को किल्ला जोगाउन नेकपा (एमाले) ले आफ्नो ‘मास्टर प्लान’ सार्वजनिक गरेको छ। एमालेले उम्मेदवार बिरेन्द्र कनोडियालाई संसद भवन छिराउने रणनीतिक जिम्मेवारीसहित नेत्रराज अधिकारीलाई ‘चुनावी कमान्डर’ तोकेको हो।
मंगलबार बसेको एमाले जिल्ला कमिटीको बैठकले गरेको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। शिवराज नगरपालिकाका संस्थापक मेयर तथा एमालेका प्रभावशाली नेता अधिकारी स्वयं यस क्षेत्रबाट टिकटका मुख्य दाबेदार थिए। तर, पार्टीले कनोडियालाई टिकट दिएपछि असन्तुष्ट हुनुको साटो अधिकारीले ‘पार्टीको निर्णय नै अन्तिम’ भन्दै कमान्डरको भूमिका स्वीकारेका हुन्। यसले एमाले पंक्तिमा ‘एकताको सन्देश’ प्रवाह भएको छ।
‘हाम्रो लक्ष्य, कनोडियाको जित’
चुनावी कमान्डरको जिम्मेवारी सम्हाल्दै अधिकारीले भने, “टिकट कसले पायो भन्दा पनि सूर्य ध्वजाबाहकलाई जिताउनु हाम्रो अर्जुनदृष्टि हो। मेरो पूर्ण सक्रियता बिरेन्द्र कनोडियालाई विजय गराउनमा केन्द्रित हुनेछ।”
यस्तो बन्यो एमालेको ‘वार रुम’ (War Room)
चुनावलाई व्यवस्थित र आक्रामक बनाउन अधिकारीको संयोजकत्वमा शक्तिशाली निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। जसमा जिल्लाका प्रभावशाली नेताहरू समेटिएका छन्:
- संयोजक: नेत्रराज अधिकारी (एमाले प्रदेश सदस्य)
- उपसंयोजक: चन्द्रबहादुर गहतराज (एमाले जिल्ला सचिव)
- सचिव: जगत पौडेल (एमाले जिल्ला सदस्य)
- उपसचिव: महादेव पोखरेल (अध्यक्ष, शिवराज नगर कमिटी)
- सदस्य: रामप्रघट कोरिला
केन्द्रीय सदस्यको कमान्डमा अनुगमन
चुनावी अभियानलाई अनुशासित र परिणाममुखी बनाउन एमालेले ‘वाच डग’ का रूपमा अनुगमन समिति पनि बनाएको छ। जसको नेतृत्व एमाले केन्द्रीय सदस्य शिवकुमारी चौधरीले गर्नेछिन्।
टिकटका प्रतिस्पर्धी नै कमान्डर बनेर मैदानमा उत्रिएपछि कपिलवस्तु–३ मा एमाले कार्यकर्ताहरू उच्च मनोबलका साथ चुनावी अभियानमा होमिएका छन्।









