जिम्मेवार पत्रकारिताको सन्देश, कपिलवस्तुमा आचारसंहिता कार्यशाला र ३१ प्वाइन्ट रक्तदान

कपिलवस्तु ।

कलमको शक्ति र सामाजिक जिम्मेवारीलाई एकसाथ जोड्दै प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवस कपिलवस्तुमा अर्थपूर्ण ढंगले मनाएको छ। स्थापना दिवसको अवसरमा आयोजित निर्वाचन आचारसंहिता सम्बन्धी कार्यशाला तथा रक्तदान कार्यक्रमले पत्रकारिता केवल समाचार लेखनमै सीमित नरहेको सन्देश दिएको छ।

नेपाल रेडक्रस सोसाइटी बाणगंगा शाखा, सिद्धिपुरको सहकार्यमा सम्पन्न रक्तदान कार्यक्रममा ३१ प्वाइन्ट रगत संकलन गरिएको छ। निर्वाचनको संवेदनशील घडीमा सचेतना र मानवीय सेवाको संयोजन कार्यक्रमको विशेष आकर्षण बनेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले लोकतन्त्र सुदृढ गर्न सञ्चार क्षेत्रको भूमिका निर्णायक हुने उल्लेख गर्दै निर्वाचन अवधिमा पत्रकारहरूले निष्पक्ष, तथ्यपरक र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले प्रेस चौतारीद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भन्दै प्रशंसा गरे।

नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटी सचिव चन्द्रबहादुर गहतराजले पत्रकारितालाई लोकतन्त्रको मेरुदण्डको रूपमा चित्रित गर्दै निर्वाचन जस्तो संवेदनशील समयमा आचारसंहिता र सामाजिक सेवालाई सँगसँगै अघि बढाउनु प्रशंसायोग्य रहेको बताए। यसले पत्रकारिताप्रति आमनागरिकको भरोसा अझ बलियो बनाउने उनको धारणा थियो।

त्यसैगरी प्रेस चौतारी नेपाल कपिलवस्तु जिल्ला इन्चार्ज रामप्रकट कोरीले प्रेस चौतारी पत्रकारहरूको संगठन मात्र नभई सामाजिक रूपान्तरणको अभियान भएको स्पष्ट पारे। उनले निर्वाचन अवधिमा सत्य, सन्तुलित र जिम्मेवार सूचना प्रवाह गर्नु नै प्रेस चौतारीको मूल दायित्व भएको बताए।

कार्यक्रमका अध्यक्ष तथा प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझीले स्थापना दिवसका अवसरमा हरेक वर्ष पेशागत मर्यादा, जनचेतना र सामाजिक सेवासँग जोडिएका कार्यक्रम गर्दै आएको जानकारी दिए।

उनले निर्वाचनमा पत्रकारहरूले आचारसंहिता पालना गर्दै तथ्यमा आधारित र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

धेरै पढिएको

ताजा समाचार