लैङ्गिक हिंसा रोकथामसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


कपिलवस्तु, शिवराज

‘मौनता तोडौँ : सामुदायिक नेतृत्वमा लैङ्गिक हिंसा रोकथाम परियोजना’ अन्तर्गत लैङ्गिक हिंसा (GBV) रोकथाम तथा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना वुमेन एक्ट (Women ACT) ले गरेको थियो भने सहयोगी संस्थाको रूपमा प्लान इन्टरनेशनल (PLAN) रहेको थियो।
कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख अजय थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा, शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रमको अध्यक्षता सिर्जना अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा परियोजना तथा लैङ्गिक हिंसासम्बन्धी विषयमा कार्यक्रम विशेषज्ञ झलकमान विश्वकर्माले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रकाश अधिकारीले गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, सामाजिक अभियन्ता, महिला अधिकारकर्मी, महिला पत्रकार तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा लैङ्गिक हिंसा रोकथाम, बालविवाह न्यूनीकरण, महिला तथा बालबालिकाको अधिकार संरक्षण, समुदायस्तरमा सचेतना अभिवृद्धि, हिंसामा परेका व्यक्तिहरूको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा व्यापक छलफल गरिएको थियो। सहभागीहरूले लैङ्गिक हिंसा तथा बालविवाह जस्ता सामाजिक विकृतिहरू अन्त्य गर्न स्थानीय सरकार, समुदाय, विद्यालय, अभिभावक तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
प्रमुख अतिथि शिवराज नगरपालिकाका प्रमुख अजय थापाले लैङ्गिक हिंसा र बालविवाह समाज विकासका प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय तहले महिला, बालबालिका तथा किशोरीहरूको सुरक्षा र सशक्तीकरणका लागि आवश्यक नीति तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
विशिष्ट अतिथिहरूले पनि लैङ्गिक हिंसा तथा बालविवाह अन्त्यका लागि समुदायको सक्रिय सहभागिता आवश्यक रहेको औंल्याउँदै सचेतना, शिक्षा र कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका अध्यक्ष सिर्जना अधिकारीले परियोजनाको उद्देश्य समुदायस्तरबाटै लैङ्गिक हिंसा रोकथामका प्रयासलाई सुदृढ बनाउनु रहेको बताउँदै महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमले लैङ्गिक हिंसा, बालविवाह तथा अन्य सामाजिक कुरीतिविरुद्ध सामुदायिक नेतृत्वलाई सशक्त बनाउने, सरोकारवालाबीच समन्वय बढाउने तथा सुरक्षित र समानतामूलक समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै सम्पन्न भएको थियो।

धेरै पढिएको

ताजा समाचार