बिजयनगरमा जलवायु अनुकूल जीवनयापन सम्बन्धि अनुगमन


कपिलवस्कतु – विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकामा वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय पुँजी कोष (यूएनसीडीएफ) को साझेदारीमा सञ्चालित स्थानीय जलवायु अनुकूल जीवनयापन परियोजना Local Climate Adaptive Living (LoCAL) सम्बन्धमा अन्तरक्रिया तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । यसै अवसरमा नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन इर्न्स्टलाई गाउँपालिका र स्थानीयद्वारा भव्य स्वागत समेत गरिएको छ ।
कार्यक्रममा राजदूत साइमन इर्न्स्ट, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा प्राविधिकबीच परियोजनाको प्रगति, उपलब्धी र प्रभावका विषयमा अन्तरक्रिया गरिएको हाे । यहाँ करिब २ करोड ७२ लाख रुपैयाँ बराबरका विभिन्न विकासका योजना सञ्चालनमा रहेका रहेका छन् ।
बुधबार विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा लगायतकाे टाेलीले उक्त याेजनाकाे अनुगमन गरेको प्रशासन शाखा प्रमुख बाेधराज भुसालले बताए ।


अनुगमन टोलीले परियोजना अन्तर्गत सञ्चालित थरौली भाठा स्टिल ट्रस निर्माण, प्रेमनगर हाटबजार तथा लोहरौला हाटबजार स्तरोन्नति एवं व्यवस्थापन, गेडुवाजोत लिफ्ट सिँचाइ पाइपलाइन तथा विद्युत् विस्तार र ज्योतिनगर लिफ्ट सिँचाइ तथा पाइपलाइन विस्तार योजनाको स्थलगत अनुगमन गरेको प्राविधिक अधिकृत हेमन्त कुमार चाैधरीले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले परियोजनाले स्थानीयको जीविकोपार्जन र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै जलवायु अनुकूलन र दिगो विकासमा परियोजनाको प्रभाव सकारात्मक रहेको उल्लेख गरे ।
प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले परियोजना अन्तर्गतका योजनाहरू निर्धारित समयमै गुणस्तरीय रूपमा कार्यान्वयन भइरहेको बताउँदै यसले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाई लगायत क्षेत्रमा थप याेजनाकाे लागि गाउँपालिकाले माग गरेकाे बताए ।
अनुगमनका क्रममा परियोजनाबाट कृषि उत्पादन वृद्धि, बजार पहुँच विस्तार तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्न स्थानीय समुदायको क्षमता अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।
गाउँपालिकाले यस्ता विकास तथा जलवायु अनुकूलनका कार्यक्रमलाई आगामी दिनमा समेत प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

धेरै पढिएको

ताजा समाचार